दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा आगामी पुस ६ देखि ८ गते सम्म पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी पुस ६ गतेबाट सञ्चालन हुने जनाएको हो ।
गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयहरुको सहभागिता रहने गरि वडा नम्बर ४ को खात्ती खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिने गाउँपालिकाका शिक्षा अधिकृत मदन राज जोशीले जानकारी दिनुभयो ।
प्रतियोगितामा १८ वर्ष मुनिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले मात्रै सहभागी हुन पाउने छन् । प्रतियोगितामा छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कबड्डी तथा एथ्लेटिक्स तर्फ छात्र÷छात्राको १ सय, २ सय,४ सय, ८ सय, १५ सय, र ३ हजार मिटर ट्रयाक दौड सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै ४ गुणा १ सय मिटर र ४ गुणा ४ सय मिटर रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटफुट प्रतियोगिता सञ्चालन हुने शिक्षा अधिकृत विरेन्द्र सिंह साउदले जानकारी दिनुभयो । । ज्याभलिङ थ्रो छात्रको ८ सय ग्राम र छात्राको ६ सय ग्राम तथा सटफुट छात्रको १२ पाउण्ड र छात्राको ८ पाउण्डको हुने जनाइएको छ ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरुको विवरण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (संशोधन सहित) को अनुसूची –१ बमोजिमको फारम सहित मिति पुस ३ गते सम्म बुझाईसक्नुपर्ने साउदले बताउनुभयो ।
शैक्षिक सत्र २०८१ को एसईईमा अनुत्तिर्ण विद्यार्थीहरु उक्त प्रतियोगितामा समावेश नगरिने गाउँपालिकाले जनाएको छ ।





प्रतिक्रिया