दार्चुला । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा दार्चुलाबाट केन्द्रीय सदस्यमा गणेश सिंह ठगुन्ना विजयी हुनुभएको छ । दार्चुलाबाट निर्वाचित पूर्व सांसद तथा पूर्वमन्त्री समेत रहनुभएका ठगुन्ना यस अघि पार्टीको केन्द्रीय पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो ।
विहिबार सम्पन्न ११औँ महाधिवेशनको मतपरिणाम अनुसार ठगुन्नाले एक हजार ३ सय ४९ मतसहित प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। दार्चुलाबाट केन्द्रीय सदस्यमा ४ जना गणेश सिंह ठगुन्ना, हरदेव जोशी, प्रेम सिंह धामी र धर्मान्नद मन्यालले उम्मेद्धवारी दिनुभएको थियो ।
ठगुन्ना केन्द्रीय सदस्य निर्वाचित हुँदा जोशी, धामी र मन्याल भने पराजित हुनुभएको छ। खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित ठगुन्नाले पदाधिकारीमा दाबी गरेपनि केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिनुभएको थियो।
विद्यार्थी जीवनदेखि नेकपा माले हुँदै एमालेको राजनीतिमा होमिएका ठगुन्ना २०५० सालदेखि पटक पटक जिल्लाको पार्टी नेतृत्व सम्हाल्दै अहिले केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।
दार्चुला जिल्ला इन्चार्ज, सुदूरपश्चिम प्रदेश सहइन्चार्जको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका ठगुन्ना २०७१ सालदेखि केन्द्रीय राजनीतिमा सक्रिय हुनुहुन्छ ।
२०५४ सालमा दार्चुला जिल्ला विकास समिति सभापति, २०७० सालमा दोस्रो संविधानसभा सदस्य, २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको छ ।





प्रतिक्रिया