दार्चुला सदरमुकाम खलंगा वरपरका क्षेत्रहरु खलंगा, छापरी, काँटै, धाप र दत्तुलाई समायोजन गरेर महाकाली नदीको किनारमा ९ वटा वडाहरु रहेको महाकाली नगरपालिकाको स्थापना २०७३ साल फागुन २५ गते भएको हो ।
यस नगरपालिकाको पूर्वमा नौगाड गाउँपालिका, पश्चिममा भारत, उत्तरमा दुहूँ गाउँपालिका र दक्षिणमा शैल्य शिखर नगरपालिका र मालिकार्जुन गाउँपालिका संग सिमाना जोडिएको छ । २१ हजार दुई सय ३१ जनसंख्या र १३५.११ वर्ग किलोमिटर क्षेत्रफल ओगेटेको महाकाली नगरपालिकामा कृषि उत्पादन र पर्यटनको राम्रो सम्भावना रहेको छ ।
नेपाली काग्रेशको तर्फबाट स्थानीय तहको निर्वाचनमा महाकाली नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचित हंशराज भट्ट व्यवसायी, समाजसेवी र नेपाली काग्रेश दार्चुलाको युवा नेताको रुपमा चिनिनुहुन्छ । यसै सन्दर्भमा महाकाली नगरपालिका प्रमुख हंशराज भट्टसंग गरिएको संक्षिप्त कुराकानी :-
१. चुनावी प्रतिवद्धताहरु के के गर्नु भएको थियोे ? के के पुरा भए ?
चुनावी प्रतिवद्धताहरुलाई पुरा गर्न हामी लागि परेका छौँ । चुवानको बेला एउटा घोषणापत्र बनाएर हामीले जनतालाई बाँडेका थियौ । घोषणपत्रमा उल्लेख गरिएका नगरपालिकाको विकास र जनजीविकाका कुराहरु खानेपानी, सडक सञ्जाल, विद्युत, सिचाई, कृषि क्षेत्रमा जनताको पहुँच, शिक्षामा स्तरोन्नती लगायत भौतिक र सामाजिक विकासका विषयहरु समेटिएका थिए । प्रतिवद्धता गरिएका झण्डै ७० प्रतिषत कुराहरुमा हामी सन्तुष्ट हुन सकेका छौँ । अझै ३० प्रतिषत कामहरु गर्न बाँकी छन् ।
२. यो वीचमा खास गरेर सम्झनयोग्य काम के भए ?
थुप्रै काम भएका छन् । प्रतेक वडाका अधिकासं विकट क्षेत्रहरु सडक सञ्जालमा जोडिएका छन् । नगरपालिकाको सबैभन्दा विकट बबा, दह, जाइझुल, धौलिगाड, पौनेखोला, दोपाखे, थाप्ला, उल्लेनी लगायत क्षेत्रहरुमा अबको दुई वर्षभित्र सडक पुर्याउने गरी काम भइरहेको छ । त्यसबाहेक साना सिचाईका कार्यक्रमहरु सञ्चालनमा छन् ।
विद्युत विस्तारको काम अन्तिम चरणमा छ । शिक्षामा पुर्वाधार निर्माण र मानविय जनशक्ति व्यवस्थापन, माद्यमिक र आधारभुत विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । विगतमा नैतिक भ्रष्टाचारको रुपमा कुनै पुर्वाधारको योजना लगेर निजि शिक्षकलाई तलब खुवाउने गरिन्थ्यो तर अहिले त्यसलाई रोकेर नगरपालिकाबाटै तलब दिने गरेका छौ ।
२०७० सालको बाढीले बगाएदेखि खेलमैदानको अभाव झेल्दै आएकोमा खेलमैदान निर्माण कार्य सुरु भएको छ । पर्यटकिय क्षेत्रमा पनि वडा नम्बर १ छापरीमा भ्यू टावर निर्माण भइरहेको छ । त्यहा पुग्ने सडक निर्माण भएको छ । ट्रेकिङ रुट बनाउने तयारीमा छौ । धार्मीक पर्यटनलाई जोड दिएर डुङरी मन्दिर विकास क्षेत्र भित्र एउटा प्रकृतिक पार्क निर्माण गर्ने र मन्दिरको सौन्दर्यता बढाउन प्रयत्नरत छौ । दिवा खाजा नगरपालिकाका प्रतेक विद्यालयमा लागु गरेका छौ । यस्ता थुप्रै मननयोग्य कार्यक्रमहरु हामीले गरेका छौँ ।
३. तपाईहरुका कामको मध्यावधी समिक्षा गर्ने बेला भयो ? कस्तो समिक्षा गर्नु भएको छ ?
हामी जनअपेक्षा अनुसार उत्साहित भएर काम गरिरहेका छौ । तर निर्वाचित भएको तीन वर्ष वितिसक्दा संघीयताको मोडेल र कार्यान्वयनमा निकै फरक भइरहेको छ जस्तो लाग्छ । शुरुमा स्थानीय तहलाई सिंहदरवार नै भनिएको थियो तर बुझ्दै जादा अहिलेपनि संघीयता सिंहदरवारबाटै सञ्चालन भैरहेको छ । ऐन, कानुन निर्माण र कार्यान्वयनमा संघ र प्रदेश सरकारको अवरोध कायमै छ । आफ्नो नियन्त्रणमा रहेका अधिकार र सिमित स्रोत साधनको उपयोग गरेर गर्न सकिने कुराहरु गरिरहेका छौ ।
जनताको अपेक्षा र आवश्यकता पुरा गर्न नसकेपनि आधारभुत कुराहरु प्रभावकारी ढंगले गरिरहेका छौ जस्तो लाग्छ । हामीले जनतामाझ गरेका अधिकासं प्रतिवद्धताहरु पुरा गरिसकेकाले अबको दुई वर्षभित्र बाँकी प्रतिवद्धता समेत पुरा गरिसक्ने योजना बनाएका छौ ।
४. तपाईको नगरलाई समृद्ध बनाउने अल्पकालिन र दीर्घकालिन योजना के के ल्याउनु भएको छ ?
अब हामी सडक पुग्न बाँकी क्षेत्रहरुलाई सडक सञ्जालमा जोड्दै खुलेका सडकका ट्रर्याकहरुलाई ग्राभिल र कालोपत्रे गरेर बाह्रै महिना सञ्चालन गर्ने योजनामा छौ । खानेपानी प्रतेक घरधुरीमा पुगोस, खेतियोग्य जमिनमा सिचाई सुविधा होस भन्ने ढंगले काम गरिरहेका छौ । शिक्षामा आमुल सुुधार गर्नका लागि नगरपालिकालाई नै शैक्षिक नगरीको रुपमा स्थापित गर्नका लागि हामी प्रयासरत छौ । नगरपालिकाको सदरमुकाममा वर्षौदेखि हुने खानेपानीको अभावलाई अन्त्य गर्न एडिबीको सहयोगमा अहिले ३३ करोडको सम्झौता गरेका छौँ । खानेपानी समस्या समाधानका लागि त्यसको छिटो कार्यान्वयन गर्ने कुरा हाम्रो प्राथमिकतामा छ ।
सदरमुकाम भएकै कारणले पनि पर्यटकिय दृष्टिकोणले अपि नाम्पा जाने वा जुनसुकै ठाउँमा जाने पर्यटक कम्तिमा एक दिन सदरमुकाममा बस्नुपर्छ भन्ने हिसाबले पर्यटकिय क्षेत्र निर्माण गर्न प्रयासरत छौ । खेलकुदको क्षेत्रमा हामी अगाडी बढिरहेका छौ । कृषि उत्पादनलाई व्यावसायिकरण र बजारीकरण गर्न हामीले काम गरिरहेका छौ । पुर्वाधार विकास र समाजिक विकासका हरेक क्षेत्रमा काम गरेर समृद्ध महाकाली नगरपालिका बनाउने योजनामा हामी छौ ।
५. प्रदेश र संघ सरकारसंग के कस्ता समन्वय भएका छन् ?
स्थानीय तह, प्रदेश र संघीय सरकारविच समन्वय र सहकार्य नभएसम्म संघीयता सफल हुन सक्दैन । अहिलेसम्म स्थानीय तह हाम्रो धरातल हो, घर हो भन्ने कुरा प्रदेश र संघ सरकारले बुझेको जस्तो मलाई लाग्दैन् । संघ र प्रदेशमा समायोजन भएका कार्यालयहरु स्थानीय तहलाई टेर्दैनन । यतिसम्मकी नगरपालिकाभित्र सञ्चालित योजनाहरुको सूचि समेत नदिने अवस्थामा छन् । माद्यमिक तहसम्मको शिक्षा स्थानीय तहको एकल अधिकारमा छ तर ऐन बनाउने देखि कार्यान्वयन तहसम्म हस्तक्षेप कायमै छ ।

प्रदेशबाट सञ्चालित विकास निर्माणका काममा अहिलेसम्म सहकार्य गरेको पाएका छैनौ । संघ र प्रदेश सरकारका कारण संविधानले डेढ वर्षभित्र कानुन निर्माण गरिसक्ने भनेको भएपनि हालसम्म धेरैजसो ऐन, कानुन तयार गर्न सकिएको छैन् । प्रदेश र संघीय सासंदले समेत संघीयताको मर्म नबुझेर स्थानीय तहलाई स्थानीय निकायको रुपमा हेरेको पाइन्छ । त्यसकारण हामी सम्पूर्ण संघीयता कार्यान्वयनका पक्षधरहरुले इमानदारीतापुर्वक संघीयता जोगाउन लाग्नु आवश्यक छ जस्तो लाग्छ मलाई ।
६. शुसासनका लागि खास काम के गर्नु भएको छ ?
सुशासनको क्षेत्रमा हामी अभ्यासरत छौ । हामीले प्रतेक वडामा नागरिक वडापत्रहरु राखेका छौ । नगरपालिकामा डिजिटल वडापत्रको व्यवस्था गरेका छौ । सार्वजनिक कार्यक्रम गर्नुपुर्व रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल मार्फत प्रतेक नागरिकसम्म जानकारी पुगोस भन्ने उद्धेश्यले सूचनाहरु सम्प्रेषण गरिरहेका छौ । प्रतेक वडा र नगरपालिकाको सार्वजनिक सुनुवाई र सामाजिक परिक्षण कार्यक्रम गर्दैआएका छौ ।
७. कोरोना नियन्त्रण र उपचारका लागि के के काम गर्नुभयो ?
कोरोना नियन्त्रण गर्न सुरुवातमा हामीले निकै प्रयास गरेका हौ तर अगाडी बढ्दै जादा समस्या के देखियो भने जे निर्णय पनि संघीय सरकारको निर्णय अनुसार हुने, लकडाउन गर्नु आवश्यक नभएको बेला लकडाउन गर्नुपर्ने, लकडाउन गर्नुपर्ने बेला खोल्नुपर्ने कारणले अहिले कोरोनाको जोखिम बढ्दै गएको देखिन्छ । अब संक्रमण यति बढिरहेको अवस्थामा क्वारेन्टाइन र आइसोलेसन बनाउन सम्भव छैन, होम आइसोलेसनका कुराहरु आइरहेका छन् । जबसम्म स्थानीय तहहरु लागेका थिए त्यतिबेला नियन्त्रणमा थियो अब स्थानीय तह थाकिसकेपछि कोरोना नियन्त्रण बाहिर जाने हो की भन्ने चिन्ता छ, तर पनि हालसम्म महाकाली नगरपालिकाभित्र कोरोना नियन्त्रणमै छ । स्वाब संकलन, कन्ट्रर्याक्ट टे«सिङ गर्ने काम भइरहेका छन् ।
८. तपाई सीमा क्षेत्रको जनप्रतिनीधि पनि अहिले दार्चुला सहितको सुदूरपश्चिममा सीमा विवाद भइरहेको छ । के भन्नुहुन्छ यी विषयमा ?
सीमा विवाद हाम्रो अधिकारमा छैन, त्यसैले यो विषयमा हामीले धेरै बोलिरहनु आवश्यक पनि छैन् । यसलाई राजनीतिक स्वार्थ पुर्तिको एजेन्डा बनाएर पनि काम छैन् । संघीय सरकारले परराष्ट्र मन्त्रालयमार्फत दुबै देशबिच कुटनीतिक वार्ताको माध्यमबाट सामाधान खोज्नुपर्छ ।
यो अन्तरवार्ता आजको गोरखापत्र दैनिकमा छापिएको छ ।





