बैतडीको सुर्नया गाउँपालिका विगत दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक सेवा प्रभावित भएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको गत कात्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएपछि हालसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था हुन सकेको छैन।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पुस ६ गते शाखा अधिकृत खगेन्द्र भारतीलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको थियो। तर भारती गाउँपालिकामा हाजिर हुन नपाउँदै जिल्ला निर्वाचन कार्यालय बैतडीमा पुनः सरुवा भएका छन्। भारती हाल जिल्ला निर्वाचन कार्यालयमा कार्यरत रहेको बताइएको छ।
गाउँपालिकाका आर्थिक तथा प्रशासनिक कामकाज ठप्पप्रायः बनेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिनुभयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक–पटक आग्रह गर्दा पनि समस्या समाधान नभएको बताउनुभयो ।
‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता तथा विकास निर्माणका काम प्रभावित भएका छन्। मन्त्रालयमा बारम्बार जानकारी गराएका छौं, तर हालसम्म कुनै व्यवस्था भएको छैन, अध्यक्ष कुँवरले भन्नुभयो ।’ प्रमुख प्रशासकीय अधिकृतको अभावले सामाजिक सुरक्षा भत्ता वितरणमा समेत समस्या देखिएको छ, जसका कारण लाभग्राहीहरू निराश भएका छन्।
यसअघि जेनजी समूहको अगुवाइमा विभिन्न माग राख्दै ३९ दिनसम्म गाउँपालिकामा तालाबन्दी गरिएको थियो। माग सम्बोधन गर्ने सहमतिपछि तालाबन्दी खुले पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा सहमति कार्यान्वयनमा कठिनाइ भइरहेको अध्यक्ष कुँवरले बताउनुभयो ।
उहाँका अनुसार निर्वाचन नजिकिँदै जाँदा समस्या झन् जटिल बन्दै गएको छ।
यता, गाउँपालिकामै कार्यरत कर्मचारीहरू समेत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन अनिच्छुक देखिएका छन्। प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण सेवा प्रवाह, विकास निर्माण र सामाजिक सुरक्षा कार्यक्रमहरू प्रभावित भइरहेका छन्।





प्रतिक्रिया