दार्चुला । नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको छ । महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डपमा स्टेज निर्माणलगायतको काम भइरहेको छ ।
महाधिवेशनको भोलि उद्घाटन हुनेछ । विशेष महाधिवेशनका लागि जिल्ला स्तरबाट प्रतिनिधि आउने क्रम चलिरहेको छ । महाधिवेशन सोमवारसम्म चल्नेछ । संस्थापन पक्षले भने यसलाई अस्वीकार गरेको छ ।
महाधिवेशन व्यवस्थापन समितिका अनुसार हिजोदेखि प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू पनि सँगसँगै अगाडि बढेका छन् । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरेको विशेष महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक राजनीतिक बहसका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।
यसैबीच नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनलाई नीतिगत मात्रै बनाउन आग्रह गर्नुभएको छ । आज पत्रकार सम्मेलन गरेर उहाँले विशेष महाधिवेशनलाई नीतिगत सम्मेलन बताउँदै संकल्प प्रस्ताव पास मात्रै गरेर जान आग्रह गर्नुभएको हो । विशेष महाधिवेसनको तयारी तिब्र रूपमा भइरहँदा दलका नेताहरुबीच छलफल पनि तिब्र बनेको छ ।




