महाकाली कोरिडोरः चालु आवमा दार्चुलाको लास्कुघाट र निजाङ खोलामा मोटरेबल पुल निर्माण हुने

दार्चुला । कञ्चनपुरको ब्रम्हदेवदेखि दार्चुलाको तिङ्कर नाकासम्म जोड्ने महाकाली कोरिडोर अन्तर्गत विभिन्न नदी तथा खोलामा निर्माण गर्नुपर्ने ४० वटा मोटरेबल पुलमध्ये चालु आर्थिक वर्ष २०८२/८३ मा दुईवटामात्र पुल निर्माण हुने भएका छन्।

महाकाली कोरिडोर (ब्रम्हदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनाका योजना प्रमुख ईश्वर कार्कीका अनुसार कोरिडोरको कुल लम्बाइ ३३४ किलोमिटर रहेको छ। यो सडकले कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला गरी चार जिल्लालाई जोड्ने गर्दछ। तीमध्ये चालु आर्थिक वर्षमा दार्चुला जिल्लाको लास्कुघाट र निजाङ खोलामा मोटरेबल पुल निर्माण गर्ने तयारी गरिएको छ।

उहाँका अनुसार ४० वटा मोटरेबल पुल निर्माणका लागि राष्ट्रिय योजना आयोगमा प्रस्ताव पेस गरिएको भए पनि दुईवटा पुलका लागि मात्रै बजेट सुनिश्चित भएको छ। बाँकी ३८ वटा पुलका लागि आवश्यक स्रोत सुनिश्चित हुन नसक्दा ती प्रस्ताव आयोगमै पेन्डिङ अवस्थामा रहेका छन्। सबै पुललाई रातो किताबमा समावेश गरी बहुवर्षीय स्रोत सुनिश्चितताको प्रस्ताव गरिएको भए पनि हाललाई दुईवटामात्र पुलका लागि बजेट स्वीकृत भएको योजना प्रमुख कार्कीले जानकारी दिनुभयो।

चालु आर्थिक वर्षमा दार्चुलाको लास्कुघाट मोटरेबल पुल निर्माणका लागि दुई करोड रुपैयाँ र निजाङ खोलाको मोटरेबल पुलका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। लास्कु खोलामा २०७९ भदौ २४ गते आएको बाढीले निर्माण सम्पन्न भई भुक्तानी हुन बाँकी रहेको पुल बगाएको थियो भने २०७८ भदौ १३ गते आएको बाढीले निजाङ खोलाको पुल बगाएको थियो। ती दुवै स्थानमा पुनः मोटरेबल पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ।

योजना प्रमुख कार्कीका अनुसार बाढीबाट क्षति भएका पुल निर्माणका लागि विशेषज्ञ टोलीमार्फत स्थलगत अध्ययन भइरहेको छ। दुवै पुलमा निर्माणपछि सुपर स्ट्रक्चर बगाएको बताउँदै उहाँले सडक विभाग अन्तर्गतको पुल महाशाखाबाट प्राविधिक अध्ययन भइरहेको र करिब एक महिनाभित्र प्रतिवेदन प्राप्त भएपछि बाँकी निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।

पुल बगाएपछि दार्चुलाको उत्तरी क्षेत्र व्यास र दुहुँ गाउँपालिकासम्म आवतजावत गर्ने सवारीसाधनहरू जोखिमपूर्ण खोलाको बाटो प्रयोग गर्न बाध्य छन्। आर्थिक वर्ष २०६५/६६ देखि सञ्चालनमा रहेको यस सडक योजनाअन्तर्गत पछिल्लो १६ वर्षमा २८४.५ किलोमिटर सडकको ट्र्याक खोलिसकिएको छ भने कोरिडोर अन्तर्गत अझै ४९.५ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?