दार्चुला । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेको छ । निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ता शुरु गरेको छ । दार्चुलाबाट चार जनाको केन्द्रीय सदस्यमा उम्मेदवारी मनोनयन गरिएको छ ।
कांग्रेश दार्चुलाबाट नरेन्द्रसिंह धामी, गणेशराज भट्ट, पदमराज पन्त र आनन्दी पन्तगरी चार जनाको केन्द्रीय सदस्यमा उम्मेदवारी मनोनयन गरिएको हो । मालिकार्जुन गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहनुभएका नेता नरेन्द्र सिंह धामीको सुदूरपश्चिम प्रदेश खस आर्यबाट, नेताहरु गणेशराज भट्ट र पदमराज पन्तको खुल्ला केन्द्रीय सदस्य र नेतृ आनन्दी पन्तको खुल्ला महिला सदस्यमा उम्मेदवारी दर्ता गरिएको बताइएको छ ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बिहान ९ः१५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको बताउनुभयो । लगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने बताइएको छ । पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदका लागि निर्वाचनको काम अघि बढेको हो ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७ सय ४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६ सय ३५ महाधिवेशन प्रतिनिधि रहेको विशेष महाधिवेशन सचिवालयले जनाएको छ । सहमतिको अन्तिम प्रयास भइरहेको र सहमति नजुटे विशेष महाधिवेसनबाट नयाँ नेतृत्व चयन गरिने नेता नरेन्द्र धामीले बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा दार्चुलाबाट निर्वाचित निवर्तमान सांसद, पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू विशेष महाधिवेशनमा सहभागी नभएर पार्टी फुट्नु नहुने पक्षमा रहेका बेला दार्चुलाका अधिकांश महाधिवेशन प्रतिनिधि भने विशेष महाधिवेशनमा सहभागी भएका छन्। नेता बडू शेखर कोइरालाको लाइनमा देखिदा जिल्ला कार्यसमिति सभापति, सचिव सहित अधिकांश महाधिवेशन प्रतिनिधि गगन-विश्वप्रकाश लाइनमा खुलेर विशेष महाधिवेशनमा सहभागी भएको बताइएको छ।





प्रतिक्रिया