दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएकाले पालिकाभित्रका सबै सामुदायिक माध्यमिक विद्यालयहरूमा चार दिन विदा दिएको छ।
शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै माघ ४ गतेदेखि ७ गतेसम्म गाउँपालिकाको वडा नम्बर ३ लालीमा सञ्चालन हुने छैंटौ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदै छ ।
प्रतियोगितामा विद्यार्थीहरूको सक्रिय सहभागिता, अवलोकन तथा अनुशासन, खेलभावना र सकारात्मक सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त अवधिमा विद्यालयमा पठनपाठन स्थगित गरी ४ दिन विद्यालयमा विदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक राज जोशीले बताउनुभयो ।
गाउँपालिकाले प्रतियोगितालाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्न सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको छ।




