दार्चुला । दार्चुलासहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ ।
दार्चुलाको व्याँस, अपिहिमाल, दुहँु, नौगाडलगायतका उच्च पहाडमा हिमपात भएको छ । त्यस्तै बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायत क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
डडेलधुरा सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा पनि हिमपात भएको प्रहरीले जनाएको छ ।
यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए ।
हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेको छ ।





प्रतिक्रिया