दार्चुला । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी–२० विश्वकप २०२६ मा बङ्गलादेशको सट्टा स्कटल्यान्डलाई खेलाउने भएको छ ।
सुरक्षाको कारण देखाउँदै बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा टोली पठाउन अस्वीकार गरेपछि आईसीसीले टी–२० विश्वकपमा बङ्गलादेशको सट्टा स्कटल्यान्डलाई खेलाउने निर्णय गरेको छ ।
प्रतियोगिताका लागि बङ्गलादेश सरकारले टोलीलाई भारत पठाउन नदिएको बीसीबीले जानकारी गराएपछि आईसीसीले हिजो बेलुकी बीसीबीलाई निर्णयको बारेमा जानकारी गराएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।
बीसीबीले सुरक्षा कारण देखाउँदै आईसीसीलाई आफ्ना खेलहरू भारतबाट श्रीलङ्कामा सार्न अनुरोध गरेको थियो । तर आईसीसीले बीसीबीको अनुरोधलाई अस्वीकार गरेको हो ।
स्कटल्याड अहिलेको टी–२० वरीयतामा १४औँ स्थानसहित आईसीसी प्रतियोगिताहरूमा प्रदर्शनका आधारमा विश्वकपमा स्थान पाएको हो ।
आईसीसीको नयाँ निर्णयअनुसार टी–२० विश्वकपको समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, इटालीसहित स्कटल्यान्ड रहने भएको छ ।
१०औँ संस्करणको टी–२० विश्वकप आउँदो फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ ।





प्रतिक्रिया