दार्चुला । दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू परीक्षाको मुखमा आवश्यक विषयगत शिक्षकको माग गर्दै सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय पुगेका छन्। लामो समयदेखि गणित विषयको शिक्षक नहुँदा पठन–पाठन गम्भीर रूपमा प्रभावित भएको भन्दै विद्यार्थीहरू क्याम्पस प्रमुखसहित केन्द्रीय कार्यालय पुगेका हुन्।
विश्वविद्यालयले छैठौँ सेमेस्टरको परीक्षा यही माघ २३ गतेदेखि सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको अवस्थामा गणित विषयका शिक्षक बिना अध्ययन गर्नुपरेको विद्यार्थीहरूको गुनासो छ। पटक–पटक माग गर्दा पनि विश्वविद्यालयले शिक्षक व्यवस्थापन नगरेपछि विद्यार्थी, क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुख शिक्षक खोज्दै महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय पुगेका हुन्।
गणित शिक्षकको स्थायी व्यवस्था हुनुपर्ने माग गर्दै विद्यार्थीहरूले झण्डै एक महिनादेखि क्याम्पस प्रशासनमा तालाबन्दी समेत गरेका छन्। २०७५ सालमा गोकुलेश्वर बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा समायोजन गरिएको थियो। समायोजनको समयमा रहेका जनशक्ति पनि हाल क्याम्पसमा नरहेको क्याम्पस प्रमुख परमलसिंह महराले जानकारी दिनुभयो। उहाँका अनुसार क्याम्पसमा विज्ञान संकायअन्तर्गत गणित विषय अध्यापनका लागि उपप्राध्यापक मदनबहादुर चन्द कार्यरत हुनुहुन्थ्यो। तर अढाई वर्षअघि काज मिलाएर केन्द्रीय कार्यालय गएपछि उहाँ फर्किनु भएको छैन। हाल बि.एड.का लागि कार्यरत एम.एड. अध्ययन गरेका गणित शिक्षकले बि.एस्सी. तहसमेत पढाउँदै आएका छन्।
क्याम्पसका स्ववियु सभापति सुनिल डाँगाले दुई वर्षदेखि नै शिक्षकको माग गरिँदै आएको बताउनुभयो। क्याम्पस प्रशासनसमक्ष मौखिक र लिखित रूपमा समस्या समाधानको आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको र त्यसपछि पनि माग सम्बोधन नभएपछि विश्वविद्यालय केन्द्रीय कार्यालय आउनुपरेको उहाँको भनाइ छ।
क्याम्पसमा गणित विषय मात्रै होइन, विज्ञान संकायअन्तर्गत जुलोजी विषयका लागि पनि प्राध्यापकको अभाव छ। हाल बोटनी विषयका प्राध्यापकले जुलोजी विषय अध्यापन गराइरहेका छन्। केन्द्रीय कार्यालयले केही दिनभित्रै शिक्षक व्यवस्थापन गर्ने आश्वासन दिएको क्याम्पस प्रमुख परमल महराले बताउनुभयो।




