दार्चुला । विशेष महाधिवेशनबाट बदलिएको दावी गरेको नेपाली कांग्रेसले आफ्नै स्थापना दिवस बिर्सिएको छ । सोमबार अर्थात माघ १२ गते नेपाली कांग्रेसको ८० औँ स्थापना दिवस थियो ।

विगतमा स्थापना दिवसका अवसरमा कांग्रेसले केन्द्र र जिल्लाहरुमा विविध कार्यक्रम गर्ने गरेको थियो । यसपटक भने चुनावी चटारोले स्थापना दिवस नै कांग्रेसको प्राथमिकतामा परेन । सभापति गगन थापा आफ्नो चुनावी अभियानका लागि सोमबार सर्लाही प्रस्थान गरेका थिएन भने अन्य धेरै नेताहरु आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त छन् ।

भारतको कलकत्तामा २००३ साल माघ १२ गते नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको थियो । सोही मितिलाई आधार मानेर कांग्रेसले माघ १२ मा स्थापना दिवस मनाउने गरेको थियो । स्थापना दिवसकै दिन सोमबार कांग्रेसका दुई महामन्त्री गुरुराज घिमिरे र प्रदीप पौडेलले ७७ वटै जिल्लाका सभापतिहरुलाई संयुक्त परिपत्र पनि जारी गरेका थिए ।

तर त्यसमा पार्टीको स्थापना दिवसको कुनै सन्दर्भ उल्लेख छैन । सो परिपत्र मार्फत महामन्त्रीद्वयले आसन्न निर्वाचनमा पार्टीको प्रचार कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन मात्रै दिएका छन् ।

महामन्त्री छँदा गगन थापाकै प्रस्तावमा कांग्रेसले स्थापना दिवसलाई वार्षिक कार्यतालिकामै पारेर मनाउन थालेको थियो । पार्टी स्थापनाको ८ दशक पूरा भएको सन्दर्भ जोड्नेगरी यसपटक भने कांग्रेसले केन्द्र, प्रदेश वा जिल्ला कतै पनि कार्यक्रम गरेन ।

कांग्रेस प्रवक्ता देवराज चालिसे निर्वाचन केन्द्रीत काम र कार्यक्रमले गर्दा छुट्टै कार्यक्रम हुन नसकेको बताउँनुहुन्छ। ‘चुनावको तयारीले गर्दा धेरै नेताहरु आफ्नो क्षेत्रमै हुनुहुन्छ । चुनावी कार्यक्रम त सबैतिर भएको छ तर स्थापना दिवसको छुट्टै कार्यक्रम गर्न भने अलमल भयो’, चालिसेले भन्नुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?