दार्चुला । दार्चुलामा चालू आर्थिक वर्षको ६ महिनामा १३ वटा सवारी दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्म जिल्लाका विभिन्न सडक खण्डमा १३ वटा सवारी दुर्घटना भएका हुन् ।
यस अवधिमा भएका सवारी दुर्घटनामा परि ९ जनाले अकालमै ज्यान गुमाएका छन् भने २७ जना घाइते भएका छन् । यस अवधिमा जिल्लामा सबैभन्दा बढी जिप दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रमुख सप्रहायक निरीक्षक विनोद कुमार विष्टले जानकारी दिनुभयो ।
जिल्लामा पछिल्लो ६ महिनामा ५ वटा जिप दुर्घटना भएका छन् । जिप दुर्घटनामा मात्रै ५ जनाले ज्यान गुमाएका छन् भने सबै भन्दा बढी २० जना घाइते पनि जिप दुर्घटनामै परेर भएका छन् । चालू आर्थिक वर्षको साउनमा कुनै पनि सावारी दुर्घटना भएका छैन्न् । भाद्र महिनामा एक(एक जिप, बस र अटो दुर्घटना भएका छन् ।
जस्मा अटो दुर्घटनामा ३ जना र जिप दुर्घटनामा १ महिला गरि भाद्रमा ४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्क रहेको छ । असोज महिनामा ५ वटा सवारी दुर्घटना भएका छन् । जस्मा एक जिप र एक साइकल दुर्घटनामा एक एक पुरुष गरि २ जनाले ज्यान गुमाएका छन् ।
कार्तिक महिनामा २ वटा जिप दुर्घटनामा परि २ पुरुषले ज्यान गुमाएका छन् । यस्तै मंसिर महिनामा ३ वटा सवारी दुर्घटना भएका छन् । एक टिप्पर र दुई मोटरसाईकल दुर्घटना भएको मंसिरमा ३ जना घाइते भएका छन् । पुस महिनामा एक जिप दुर्घटनामा परि एक जना पुरुषले ज्यान गुमाएको तथ्याङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।




