दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको लटिनाथ माध्यमिक विद्यालय चौतापाको ७१औँ वार्षिकोत्सव उद्घाटन गरिएको छ । विहिबार आज एक कार्यक्रमका बिच विद्यालयको ७१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य छेपरी खत्रीको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन समारोहमा शिक्षा विकास निर्देशनालय सुदूरपश्चिम प्रदेशका महानिर्देशक दुर्गादत्त विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालय सुदूरपश्चिम प्रदेशका उप निर्देशक मदनराज जोशी र लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपकराज जोशीको विशिष्ठ आतिथ्यता रहेको विद्यालयका प्रधानाध्यापक केशव राज विष्टले जानकारी दिनुभयो । त्यस्तै उद्घाटन समारोहमा लेकम गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष परमानन्द जोशीसहित जनप्रतिनिधि, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, अभिभावक, शिक्षाप्रेमी, विद्यार्थी लगायतको उपस्थिती रहेको उहाँले बताउनुभयो ।
वार्षिकोत्सव समारोहको पहिलो दिन आज अतिथिहरुले मन्तव्य राखेका थिए भने विभिन्न सांस्कृृतिक कार्यक्रमहरु सञ्चालन भएको प्रधानाध्यापक विष्टले बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्टले विद्यालयको गत आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
उहाँका अनुसार गत आर्थिक वर्षमा विद्यालयको कुल आय ४ करोड ६६ लाख १४ हजार ६ सय ९७ रुपैंँया ५० पैसा र कुल व्यय ३ करोड ६५ लाख ९४ हजार ६ सय १ रुपैँया ४२ पैसा रहेको छ । उक्त अवधिमा विद्यालयको आन्तरिक बचत ९२ लाख ६१ हजार १ सय ६१ रुपैँया ९ पैसा रहेको प्रधानाध्यापक विष्टले जानकारी दिनुभयो ।
दुई दिने कार्यक्रम अन्तरगत भोली पनि विभिन्न सांस्कृतीक कार्यक्रमहरु सञ्चालन हुने छ ।




