दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दार्चुलाले भूतपूर्व सुरक्षा निकायका कर्मचारीहरूसँग भेटघाट, अन्तरक्रिया तथा चियापान कार्यक्रम आयोजना गरेको छ। शनिबार जिल्ला सदरमुकाम खलंगामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अवकाशप्राप्त सुरक्षाकर्मीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
राप्रपा दार्चुलाका अध्यक्ष एवं प्रतिनिधिसभा समानुपातिक उम्मेदवार प्रकाश दयालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भूतपूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा दार्चुलाबाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार राजेश चन्दलगायत नेताहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा जिल्लामा रहेका भूतपूर्व सुरक्षाकर्मीहरूसँग आगामी प्रतिनिधिसभा निर्वाचन, वर्तमान राजनीतिक परिस्थिति र स्थानीय सरोकारका विषयमा छलफल तथा विचार–विमर्श गरिएको राप्रपा दार्चुलाले जनाएको छ। जिल्लामा लामो समय सेवा गरेका सुरक्षाकर्मीहरूको अनुभव र सुझावलाई पार्टीले महत्व दिएको अध्यक्ष दयालीले बताउनुभयो।





प्रतिक्रिया