दार्चुला । दार्चुलाको खलंगास्थित बंगाबगड सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्याका मुख्य आरोपी अझै फरार छन् । सोमबार राति महाकाली नगरपालिका– ४ स्थित पूजा बियरबारपछाडि मृत अवस्थामा घर्तीको शव फेला परेको थियो ।
प्रहरीले हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी पदमबहादुर विष्टका अनुसार घर्तीको हत्यामा संलग्न रहेको आशंकामा महाकाली नगरपालिका वडा नम्बर ४ बस्ने २० वर्षीया दीपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा संलग्न देखिएका मुख्य आरोपित चारजना भने फरार छन् ।
फरार हुनेमा बियर बार होटेलका सञ्चालक मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ की ३९ वर्षीया जानकी बम, २१ वर्षीय आशिष पाल, १९ वर्षीय मनीष पाल र दुहुँ गाउँपालिका वडा नम्बर २ का ४२ वर्षीय राजेन्द्रसिंह डडाल रहेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै उनीहरू भारत भागेको हुन सक्ने प्रहरीको अनुमान छ । ‘खोजी कार्य व्यापक भइरहेको छ,’ एसएसपी विष्टले भन्नुभयो, ‘तर, घटनास्थल र भारतीय सीमा नजिकै भएको हुँदा भारततर्फ भागेको हुन सक्छन् ।’ प्रहरीले फरार रहेकाहरूको खोजीका लागि तस्बिरसहित नामावली सबै प्रहरी पोस्टलाई पठाएको छ ।
घर्तीको हत्याको कारण खुल्न सकेको छैन । ‘उहाँको राति १० देखि २ बजेसम्म ड्युटी थियो भन्ने जानकारी आएको छ,’ एसएसपी विष्टले भन्नुभयो ‘तर, पोसाक भेटिएको छैन । मुख्य आरोपित पक्राउ परे मात्रै घटनाबारे विस्तृत विवरण आउन सक्छ ।’ उहाँका अनुसार घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको छ । शरीरका कपडा फुकालिएको छ । घटनाबारे प्रहरीले मंगलबार बिहान मात्रै सूचना पाएको थियो ।
बैतडी दरबन्दी रहेका घर्ती घरायसी समस्याका कारण काजसरुवा मिलाएर दुई–तीन महिना अघि मात्रै दार्चुला आउनुभएको थियो। निर्मम तरिकाले हत्या गरिएको छ । छानबिनको माग गरेका छौँ, प्रहरीले आरोपितलाई चाँडो समातोस्,’आफन्त विजयसिंह ऐरीले भन्नुभयो ।
मृतकका दाजु ज्ञानेन्द्र घर्तीले घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गर्नुभयो । एमाले दार्चुलाका अध्यक्षसमेत रहनुभएका घर्तीले प्रश्न गर्दै भन्नुभयो, ‘सदरमुकाम खलंगामै यस्ता जघन्य अपराधका घटना हुनु सामान्य विषय होइन । जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मारिन्छ भने सर्वसाधारणले बजारमा कसरी सुरक्षाको अनुभूति गर्न सक्छन्?’ घटनाको गम्भीर अनुसन्धान हुनुपर्छ।





प्रतिक्रिया