दार्चुला । सडक सञ्जालले नजोडिएको दार्चुलाको नौगाड गाउँपालिका–१ अन्तर्गत नागू क्षेत्रमा सरकारले खाद्यान्न ढुवानी सुरु गरेको छ। स्थानीयले आफ्ना माग सम्बोधन नभए निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएपछि सरकारले उक्त क्षेत्रमा खाद्यान्न पठाउन थालेको हो।

स्थानीयवासीले माघ १ र १७ गते बसेको भेलाबाट खाद्यान्न, सडक, विद्यालय, झोलुङ्गे पुललगायत पूर्वाधार विकासका माग राख्दै आएका थिए। त्यसलगत्तै माघ १८ गते जिल्ला समन्वय समिति प्रमुख महादेव बडू नेतृत्वको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले नागू क्षेत्रमा खाद्यान्न ढुवानी गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार हाल नागू क्षेत्रमा खाद्यान्न ढुवानी भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय दार्चुलाका प्रमुख हर्कराज उपाध्यायले जानकारी दिनुभयो। यो क्षेत्रमा पहिलो चरणमा ३३ बोरा चामल पठाइएको छ।

उपाध्यायका अनुसार वडा नं १ का लागि एक हजार क्विन्टल खाद्यान्न ढुवानी सुरु गरिएको छ। सिके कन्स्ट्रक्सनमार्फत ढुवानी थालिएको उहाँले बताउनुभयो। नागू, पारिमेला र इयरकोट क्षेत्रमा वितरण हुने गरी कम्पनीले चामल पठाइरहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकिलो ६२ रुपैयाँका दरले मोटो चामल उपलब्ध गराइरहेको उहाँले जानकारी दिनुभयो।

चामल प्रतिवोरा १ हजार ५५० रुपैयाँ तोकिएको छ। वडा नं १ का वडाध्यक्ष हरिलाल महताका अनुसार गाउँमा निरन्तर खाद्यान्न ढुवानी भइरहेको छ। हाल नौगाड–१ को सुण्डमुण्डसम्म जीप तथा ट्र्याक्टरमार्फत ढुवानी भइरहेको र पारिमेलाबाट खच्चडमार्फत गाउँका पसलमा खाद्यान्न पु¥याउने काम भइरहेको महताले बताउनुभयो।

यसअघि दार्चुलाका अन्य खाद्य डिपोमा चामल ढुवानी भए पनि नागूका लागि ढुवानी भएको थिएन। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षमा चामल ढुवानीका लागि दुई पटक बोलपत्र आह्वान गरे पनि नागू डिपोका लागि न्यून ढुवानी भाडा निर्धारण गरिएकाले कुनै पनि ढुवानीकर्ताले प्रस्ताव पेस नगरेपछि समयमा खाद्यान्न पठाउन नसकिएको प्रमुख उपाध्यायले बताउनुभयो।

कम्पनीले नागूका लागि प्रतिक्विन्टल २ हजार १०० रुपैयाँ ढुवानी भाडा तोकेर बोलपत्र निकालेको थियो। गत कात्तिकमा दोस्रो पटक बोलपत्र आह्वान गर्दा पनि प्रस्ताव दर्ता नभएपछि ढुवानी रोकिएको थियो।

सडक पहुँच नभएकाले खच्चड र मानिसमार्फत खाद्यान्न ढुवानी गर्दा लागत महँगो पर्ने भएकाले ठेकेदारहरू सहभागी नभएको गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीले बताउनुभयो। अघिल्लो वर्ष ढुवानीमा नोक्सान भएको भन्दै ठेकेदारहरूले यस वर्ष अस्वीकार गरेको उहाँले उल्लेख गर्नुभयो। नागू क्षेत्र नौगाडकै सबैभन्दा टाढाको दुर्गम बस्ती हो।

सरकारी तवरबाट पठाइएको चामल बजारको तुलनामा महँगो भएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। स्थानीय करनसिंह डडाँलका अनुसार बजारमा प्रतिकिलो ५८ रुपैयाँमा चामल पाइने भए पनि खाद्य कम्पनीको चामल ६२ रुपैयाँमा बिक्री भइरहेको छ। यसै साता प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको टोली नागू पुगेको थियो। सो क्रममा खाद्य संस्थानको चामलको मूल्यमा हेरफेर गर्न स्थानीयले आग्रह गरेको डडाँलले बताउनुभयो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?