दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले माघ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले माघ महिनाभर गरेका काम–कारबाही र गतिविधि समेटेर विवरण सार्वजनिक गरिएको हो।
प्रहरीका अनुसार माघ महिनामा अपराध अनुसन्धानतर्फ ८ वटा र जघन्य तथा गम्भीर अपराधतर्फ ४ वटा मुद्दा दर्ता भएका छन्। ती घटनामा संलग्न १८ जना प्रतिवादी पक्राउ परेका छन् भने २ जना अझै फरार रहेका छन्।
अदालतको फैसला कार्यान्वयनतर्फ माघ महिनामा ३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट १ वर्ष कैद तथा २० हजार ५ सय २० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ७ वटा उजुरी दर्ता भएको विवरणमा उल्लेख छ। यस अवधिमा ७ वटा घरेलु हिंसाका उजुरी परेका छन् भने ११ वटा ठाडो उजुरी दर्ता भएका छन्। साथै, माघ महिनामा एक जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग रहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टका अनुसार माघ महिनाभर १ सय ३० वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। सोही अवधिमा एक सवारी दुर्घटना भएको र ४२ वटा सवारी कारबाहीबाट ३४ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, माघ महिनामा शान्ति–सुरक्षा तथा प्रहरी कार्यका लागि १ हजार ८ सय ८७ जना प्रहरी परिचालन गरिएको तथ्यांक सार्वजनिक गरिएको छ।




