दार्चुला । आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दार्चुलामा सम्पर्क कार्यालय स्थापना गरेको छ।
जिल्ला सदरमुकाम खंलगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ मा रहेको माइति लजको भवनमा पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष प्रकास दयालीले जानकारी दिनुभयो । सोमबार राप्रपाबाट दार्चुलाका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेश चन्दसहित पार्टीका नेता–कार्यकर्ता, स्थानीय नागरिक तथा शुभेच्छुकहरूको सहभागितामा कार्यालय स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै उम्मेदवार चन्दले निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन विस्तार, मतदाता भेटघाट तथा जनसम्पर्कलाई प्रभावकारी बनाउन सम्पर्क कार्यालय स्थापना गरिएको बताए। उनले स्थानीय तहसम्म पार्टीको पहुँच विस्तार गरी जनताका समस्या र सुझाव संकलन गर्ने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
पार्टीका जिल्ला नेताहरूले आगामी निर्वाचनमा राप्रपाको उपस्थितिलाई मजबुत बनाउन घरदैलो कार्यक्रम, भेटघाट तथा जनसम्पर्क अभियानलाई तीव्र बनाइने बताएका छन्। सम्पर्क कार्यालयमार्फत मतदाता समन्वय, प्रचार–प्रसार र संगठनात्मक गतिविधि सञ्चालन गरिने जनाइएको छ।
स्थानीयस्तरमा दलहरूको चुनावी तयारी तीव्र भइरहेका बेला राप्रपाले पनि दार्चुलामा संगठन सुदृढीकरण र मतदाता सम्पर्क विस्तारलाई प्राथमिकतामा राख्दै कार्यालय स्थापना गरेको जनाएको छ।




