दार्चुला । टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’का इङ्ग्ल्यान्ड र न्युजिल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा श्रीलंकाको कोलम्बोमा सुरु हुँदैछ।
सुपर–८ अन्तर्गत समूह ‘दुई’बाट एक खेल अगाडि नै इङ्ग्ल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेको छ । आजको खेलमा न्युजिल्याण्ड विजयी भए शीर्ष स्थानमा रहँदै यो समूहबाट सेमिफाइनल प्रवेश गर्नेछ । आजको खेलमा न्युजिल्याण्ड पराजित भए अर्को खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
सेमिफाइनल प्रवेशका लागि आजको खेल न्युजिल्याण्डका लागि महत्त्वपूर्ण छ । यो समूहमा इङ्ग्ल्यान्डले दुई खेलमा निरन्तर जित निकाल्दै चार अंक जोड्दा न्युजिल्याण्डले भने एक खेलमा अंक बाँडेर अर्को जित निकाल्दै तीन अंक बनाएको छ । अंक तालिकामा इङ्ग्ल्यान्ड शीर्ष स्थानमा छ भने न्युजिल्याण्ड दोस्रो स्थानमा छ ।
२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इङ्ग्ल्यान्ड र न्युजिल्याण्ड सुपर–८ मा पुगेका हुन् ।
सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह ‘दुई’मा इङ्ग्ल्यान्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।





प्रतिक्रिया