दार्चुला । साविक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जय ट्रफी क्रिकेटको फाइनलमा पुगेका छन् । आर्मी शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै उपाधि नजिकै पुगेका हुन् ।
आज त्रिवि त्रिकेट मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ८ विकेटले हरायो । बागमतीले दिएको ८९ रनको लक्ष्य पुलिसले दोस्रो दिनको तेस्रो सत्रमा २ विकेट गुमाएर भेटायो । पुलिसका सोहेल कुँवरले नटआउट ३५ रन बनाए । बागमतीका रिजन ढकाल र सन्दीप लामिछानेले १/१ विकेट लिए ।
बागमती दोस्रो पारीमा २ सय ३७ रनमा अलआउट भएको थियो । बागमतीका ईशान पाण्डेले ८० रन बनाए । पुलिसका ललित राजवंशीले ५ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको बागमती पहिलो पारीमा १ सय ८५ रन बनाउँदा अलआउट भएको थियो । बागमतीका ईशान पाण्डेले ४१ रन बनाए । पुलिसका करण केसीले ४, ललित राजवंशीले ३ विकेट लिए ।
पुलिसले पहिलो पारीमा ८ विकेट गुमाएर ३ सय २४ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । पुलिसका कुशल भुर्तेले ९६, कप्तान आरिफ शेखले ५३, दिलसाद अलीले ५१ रन बनाए । बागमतीका सन्दीप लामिछानेले ४ विकेट लिए ।
यस्तै मूलपानी मैदानमा आजै भएको आर्मी र नेपाल एपीएफ क्लबबीचको खेलमा बराबरी भएको छ । आर्मीले दिएको ३ सय ८१ रनको लक्ष्य पछ्याएको एपीएफले दोस्रो दिनमा ७ विकेट गुमाएर २ सय २८ रन बनाउँदा खेल बराबरीमा सकियो । एपीएफका लोकेश बलमे ६४ रन बनाए । आर्मीका नरेन साउदले ५ विकेट लिए ।
आर्मीले दोस्रो पारीमा ८ विकेट गुमाएर २ सय ६८ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । आर्मीका बसिर अहमदले नटआउट १ सय १, कप्तान विनोद भण्डारीले ६३ रन बनाए । एपीएफका कप्तान रोहित पौडेलले ३, पुरन बिकेले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले पहिलो पारीमा ९ विकेट गुमाएर २ सय ५२ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । आर्मीका तृतराज दासले १ सय २, इमरान शेखले ७१ रन बनाए । एपीएफका युवराज खत्रीले ५ विकेट लिए ।
एपीएफ पहिलाे पारीमा १ सय ४० रनमा अलआउट भएकाे थियाे । एपीएफका कप्तान राेहित पाैडेलले ४८ रन बनाए । आर्मीका साेमपाल कामीले ४ विकेट लिए ।
प्रतियोगितामा गएको वर्षको प्रधानमन्त्री कपको शीर्ष चार टोली सहभागी थिए । प्रतियोगिताको फाइनल खेल आउँदो आइतवारदेखि मङ्गलवारसमम त्रिवि मैदानमा हुनेछ । गएको वर्ष आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको थियो ।





प्रतिक्रिया