दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ बसेडी ओखरपारी इजरमा पासोमा परेको चितुवाको २४ घण्टा पछि उद्धार गरिएको छ । डिभिजन वन कार्यालय दार्चुलासंग दक्ष जनशक्ति र उपकरण अभाव हुँदा राष्ट्रिय प्रकृति संरक्षण कोष, कञ्चनपुरबाट आएको टोलीले चितुवाको उद्धार गरेको हो ।
आइतबार राती ९ बजेतिर स्थानीयहरुले थापेको पासोमा फसेको चितुवाको सोमबार राती ८ः३० बतेतिर जिवित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।
कञ्चनपुरबाट आएको उद्धारकर्ताको टोलीले सोमबार राति ८ बजेतिर चितुवालाई पासोबाट निकालेर होल्डिङ सेन्टर लगेको डिभिजन बन कार्यालय दार्चुलाका प्रमुख प्रमान्नद कुँवरले बताउनुभयो । बाली जोगाउन स्थानीयहरुले बदेलको लागि थपेको ’ग्याविन तार’को पासोमा चितुवा फसेको कुँवरले बताउनुभयो ।
डिभिजन बन कार्यालय संग उद्दारको लागि विषेशज्ञ जनशक्ति र आवश्यक सुरक्षा साम्रगी समेत नहुँदा यस अघि पनि गत वर्ष पासोमा परेको चितुवा मरेको थियो ।
गत वर्ष फागुनमा लेकम–३ को एरपालीमा पासोमा परेको चितुवाको तिन दिन सम्म उद्धार नहुँदा चितुवा पासोमै मरेको थियो । पटक पटक जङगली जनावर पासोमा पर्ने तर वन कार्यालयले उद्धारको लागि सामग्री र आश्वयक जनशक्ती व्यवस्थापन गर्न नसक्नु लज्जासपद विषय भएको स्थानीयहरुको भनाई छ।




