दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा बाँस तथा निगालोबाट विभिन्न सामग्री बनाउने एक महिने सीपमूलक तालिम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा नवउद्यमी लक्षित गरी सञ्चालन गरिएको ३० दिने तालिम मंगलबार सम्पन्न भएको हो। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सम्भाव्य उद्यमीहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिनुभयो।
उहाँका अनुसार स्थानीय स्तरमै उपलब्ध बाँस तथा निगालो जस्ता प्राकृतिक स्रोतसाधनको उपयोग गरी नागरिकलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिममा ५ महिला र ४ पुरुष गरि ९ जनाको सहभागिता रहेको गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख धर्मानन्द भट्टले जानकारी दिनुभयो ।
तालिमका क्रममा सहभागीहरूलाई बाँस तथा निगालोबाट मुढा, जुत्ता राख्ने र्याक, टेबुल, ऐना हेङ्गर, साना फर्निचर तथा घरायसी प्रयोगका अन्य हस्तकला सामग्री निर्माण गर्ने व्यावहारिक सीप प्रदान गरिएको भट्टले बताउनुभयो । सहभागीहरूले सिकेको सीपलाई आयआर्जनसँग जोड्न सकिने र गाउँपालिकाको उद्यम विकास शाखाले उत्पादित सामग्रीको बजारिकरणमा पनि सहयोग गर्ने भट्टले जानकारी दिनुभयो ।
तालिमपछि नियमित रुपमा व्यसाय गर्ने सहभागीहरूलाई आवश्यक उपकरण र थप प्राविधिक सहयोग उपलब्ध गराउने तयारी गरिएको उद्यम विकास शाखा प्रमुख भट्टले बताउनुभयो । कार्यक्रम समापनका अवसरमा बोल्दै अध्यक्ष ठेकरे बोहराले तालिमले स्थानीय युवायुवतीलाई वैदेशिक रोजगारीको विकल्पका रूपमा स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
यस प्रकारका सीपमूलक कार्यक्रमले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै परम्परागत सीपको संरक्षण र प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया