दार्चुला। बजेट भाषणमा विशेष प्राथमिकताको घोषणा भए पनि दार्चुला–टिंकर सडकका लागि अपेक्षाभन्दा निकै कम रकम विनियोजन भएपछि स्थानीय निराश बनेका छन्।

नेपालको उत्तरी सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका हुँदै टिंकर नाका जोडने सामरिक महत्वको दार्चुला–टिंकर सडकका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा सरकारले १२ करोड ९९ लाख रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ। यद्यपि यो बजेट गत वर्षको भन्दा दोब्बर बढी हो।

जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महाकाली करिडोर अन्तर्गतको दार्चुला–टिंकर सडकको ट्र्याक निर्माण कार्यलाई विशेष प्राथमिकतामा राखिने बताउनुभएको थियो । तर बजेट वितरण गर्दा उक्त सडकका लागि अपेक्षाभन्दा निकै कम बजेट छुट्याइएको भन्दै स्थानीय नागरिक निराश बनेका हुन्। सामरिक महत्व बोकेको दार्चुला–तिङ्कर सडक निर्माणले अपेक्षित गति लिन नसक्दा सीमावर्ती क्षेत्रका नागरिक अझै सडक सञ्जालबाट टाढै रहेका छन्।

निर्माण सुरु भएको १८ वर्ष बितिसक्दा पनि प्रयाप्त बजेट अभावका कारण सडकले पूर्णता पाउन सकेको छैन्। नेपालतर्फ टिंकर नाकासम्म गाडी पुर्याउन अझै ६७ किलोमिटर सडक निर्माण गर्न बाँकी छ। दार्चुला–टिंकर सडक निर्माणको जिम्मा सरकारले आर्थिक वर्ष २०७७/७८ देखि नेपाली सेना लाई दिएको थियो। सेनाले व्याँस गाउँपालिका–३ तुषारपानीदेखि तिङ्करसम्म ७९ किलोमिटर सडक निर्माण गरिरहेको छ। आर्थिक वर्ष २०८७/८८ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त सडकअन्तर्गत हालसम्म २२.१५ प्रतिशत ट्रयाक खोलिएको सेनाले जनाएको छ ।

हाल तुषारपानीदेखि दुम्लिङसम्म १२ किलोमिटर सडकमा सवारी साधन पुगेको छ। सेनाका अनुसार सडक निर्माणमा अहिलेसम्म तीन अर्ब ७४ करोड रुपैयाँ खर्च भइसकेको छ। कठिन चट्टानी भूगोल र न्यून बजेटका कारण सडक निर्माण निकै सुस्त गतिमा भइरहेको छ । सेनाले नयाँ आर्थिक वर्षमा निर्माण कार्यलाई गति दिन कम्तीमा ३५ करोड रुपैयाँ आवश्यक रहेको भन्दै सरकारसमक्ष बजेट माग गरेको भए पनि त्यसअनुसार पर्याप्त बजेट विनियोजन नहुँदा काम थप प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ।

सीमित बजेटका कारण सडक निर्माणको काम विगतदेखि नै अपेक्षित गतिमा अघि बढ्न नसकेको सैनीक स्रोतको भनाई छ। दार्चुला–टिंकर सडक केवल विकासको पूर्वाधार मात्र नभई राष्ट्रिय स्वाधीनता र सीमा उपस्थितिसँग समेत जोडिएको विषय भएको स्थानीय जनक सिंह धामीले बताउनुभयो। व्याँस क्षेत्रका बासिन्दाले राज्यको उपस्थिति बलियो बनाउन तथा दुर्गम क्षेत्रमा आधारभूत सेवा विस्तार गर्न सडक निर्माणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने माग गर्दै आएका छन् ।

नेपालले आफ्नो नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रसँग जोडिएको यस भूभागमा भारततर्फ भने सडक तथा पूर्वाधार निर्माण तीव्र गतिमा भइरहेको छ। यस्तो अवस्थामा नेपाली भूभागभित्रकै बस्तीहरू अझै पनि सहज सडक पहुँचबाट वञ्चित रहनु विडम्बनापूर्ण रहेको स्थानीय अशोक बोहराको भनाइ छ। टिंकर नाकासम्म सडक पुगेमा नेपाल–चीन व्यापार विस्तार, त्रिदेशीय व्यापारिक सम्भावना, कैलाश मानसरोवर तिर्थयात्रा, पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजार पहुँचमा उल्लेख्य सुधार आउने विश्वास गरिएको छ।

व्याँस क्षेत्रको सामाजिक–आर्थिक रूपान्तरणका लागि पनि यो सडकलाई जीवनरेखाका रूपमा हेरिएको छ। दार्चुलाको दुर्गम व्याँस क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने यो परियोजना समयमै सम्पन्न हुन सके सीमा क्षेत्रको विकास, सुरक्षा तथा अन्तरदेशीय व्यापारका लागि नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ। तर बजेट अभावकै कारण निर्माणले अपेक्षित गति नपाए त्यस क्षेत्रका नागरिकले अझै वर्षौंसम्म सडक सुविधाको प्रतिक्षा गर्नुपर्ने अवस्था रहने देखिन्छ।

महाकाली करिडोर अन्तरग दार्चुला टिंकर सडकमा कुन वर्ष कति बजेट?

आर्थिक वर्ष २०७८।७९ देखि हाल सम्म दार्चुला टिंकर सडकमा ६६ करोड १ लाख रुपैँया बजेट खर्च भएको छ । महाकाली करिडोर अन्तरगत नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला टिंकर सडक खण्डको तुषरपानी देखि टिंकर सम्मको ७९ किलोमिटर निर्माण कार्य सेनाले गरिरहेको हो । उक्त खण्डमा मात्रै ट्र्याक निर्माणको लागि सेनाले आर्थिक वर्ष २०७८।७९ मा २२ करोड ४७ लाख रुपैँया बजेट पाएको थियो। यो हाल सम्म उक्त सडकखण्डमा विनियोज भएको सबैभन्दा धैरै बजेट हो। ७८ सालमा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुनुहुन्थ्यो।

त्यस पछि आर्थिक वर्ष २०७९।८० मा १० करोड ६२ लाख रुपैँया मात्रै बजेट विनियोजन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०८०।८१ मा १५ करोड ४९ लाख, २०८१।८२ मा ९ करोड १ लाख र चालू आर्थिक वर्ष २०८२।०८३ मा ६ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि १२ करोड ९९ लाख बजेट विनियोजन गरिएको छ।

सामरिक महत्वको दार्चुला-टिंकर सडकमा न्यून बजेट विनियोजन हुनु दुःखद रहेको दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नाले बताउनुभयो । “सरकारसंग यस अघि आफु क्याबिनेटमा हुदा विनियोजन भएको सर्वाधिक बजेट भन्दा कम्तीमा एक लाख मात्रै थपेर भएपनि रकम विनियोजन गर्न माग गरेको थिए तर सरकारले कुरा सुनेन, बजेट भाषणकै क्रममा पनि अर्थमन्त्री ज्यूले विषेश प्राथमिकतामा राख्ने कुरा गर्नुभएको थियो तर बजेट विनियोजन गर्दा भने उपेक्षा गरिएको छ, उहाँले भन्नुभयो।”

सांसद ठगुन्नाले आफु सरकारमा हुँदा महाकाली करिडोर तथा दार्चुला टिंकर सडकमा अहिले सम्मको धैरै बजेट विनियोजन गरेको बताउनुभयो । ठगुन्ना २०७७ पुस १० देखि २०७८ जेठ २१ सम्म संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री रहनुभएको थियो । उक्त वर्ष महाकाली करिडोरमा १ अर्ब ३ करोड र दार्चुला-टिंकर सडकमा २२ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९।०८० मा महाकाली करिडोरमा ५१ करोड ६२ लाख रुपैयाँ, आर्थिक वर्ष २०८०।०८१ मा ४५ करोड १४ लाख रुपैयाँ, आर्थिक वर्ष २०८१।०८२ मा ५१ करोड ८ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा सबैभन्दा कम ३० करोड ७८लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । हरेक सरकारले भाषणमा प्राथमिकता दिने तर बजेटमा उपेक्षा गर्ने प्रवृत्तिले सुदूरपश्चिमको समृद्धीसंग जोडिएको महाकाली करिडोर (दार्चुला–टिंकर) सडकले पुर्णता पाउन अझै वर्षाै लाग्ने देखिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?