प्रेम जोशी सन्देश, दार्चुला । मादक पदार्थ (मापसे) भन्नाले मानिसको चेतना, सोच, व्यवहार र शारीरिक अवस्थामाथि प्रत्यक्ष प्रभाव पार्ने मदिरा तथा अन्य नशालु पदार्थलाई जनाइन्छ। सीमित रूपमा प्रयोग गरिएको मदिरा पनि दुरुपयोग हुँदा व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि गम्भीर समस्याको कारण बन्न सक्छ। अझ पछिल्ला वर्षहरूमा युवापुस्तामाझ मादक पदार्थ तथा लागू पदार्थको प्रयोग बढ्दै जानु अत्यन्त चिन्ताजनक विषय बनेको छ।
मादक पदार्थको सेवनले व्यक्तिको स्वास्थ्यमा प्रतिकूल असर पार्छ। यसले मानसिक सन्तुलन बिगार्ने, निर्णय क्षमतामा कमी ल्याउने, हिंसात्मक व्यवहार बढाउने तथा विभिन्न रोगहरूको जोखिम बढाउने काम गर्छ। मापसेका कारण हुने सवारी दुर्घटना, झैझगडा, घरेलु हिंसा, अपराध तथा सामाजिक असुरक्षाका घटनाहरू दिनप्रतिदिन बढिरहेका छन्। एक व्यक्तिको कुलतले उसको परिवार मात्र होइन, सम्पूर्ण समाजलाई प्रभावित बनाउँछ।
समाजमा मादक पदार्थको बढ्दो प्रयोगले सामाजिक सद्भाव कमजोर बनाउँछ। युवाहरू अध्ययन, सीप विकास र उत्पादनशील कार्यबाट टाढा हुँदै कुलतको शिकार बन्ने अवस्था सिर्जना हुन्छ। परिवारमा कलह बढ्छ, आर्थिक अवस्था कमजोर बन्छ र समाजमा अपराधका घटना बढ्ने सम्भावना रहन्छ। यसले अन्ततः राष्ट्रको मानव संसाधन कमजोर बनाउँदै विकासको गतिलाई नै प्रभावित पार्छ। जुन राष्ट्रका युवाहरू कुलतमा फस्छन्, त्यो राष्ट्रको भविष्य नै संकटमा पर्न सक्छ।
आजको सबैभन्दा ठूलो चिन्ता नवपुस्ता मादक पदार्थ र लागू पदार्थको प्रयोगतर्फ आकर्षित हुनु हो। साथीहरूको प्रभाव, बेरोजगारी, पारिवारिक निगरानीको कमी, सामाजिक सञ्जालको गलत प्रभाव तथा सहज उपलब्धताका कारण धेरै युवाहरू कुलतमा फसिरहेका छन्। यसको असर विद्यालय, कलेज, गाउँबस्ती र बजार क्षेत्रसम्म फैलिएको देखिन्छ। यदि समयमै नियन्त्रण गर्न सकिएन भने यसले सामाजिक संरचनामै गम्भीर चुनौती खडा गर्न सक्छ।
यस्तो अवस्थामा राज्यको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। मादक पदार्थ तथा लागू पदार्थ नियन्त्रणलाई केवल व्यक्तिगत विषयका रूपमा हेर्न मिल्दैन। यसको नियन्त्रणका लागि कानुनी व्यवस्था कडा बनाउने, नियमित अनुगमन गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यालय तथा समुदायस्तरमा परामर्श सेवा विस्तार गर्ने तथा युवाहरूलाई खेलकुद, सीप र रोजगारीमा जोड्ने काम राज्यले प्राथमिकताका साथ गर्नुपर्छ।
हालै दार्चुला जिल्लाको गोकुलेश्वर क्षेत्रमा मापसे जाँच भइरहेको जानकारी प्राप्त भएको छ। यो सकारात्मक र स्वागतयोग्य कदम हो। तर हालको जानकारी अनुसार मुख्य रूपमा सवारी चालकहरूको मात्र परीक्षण भइरहेको देखिन्छ। सडक दुर्घटना न्यूनीकरणका लागि चालकहरूको जाँच आवश्यक भए पनि समस्या त्यतिमै सीमित छैन। गाउँबस्ती, बजार क्षेत्र तथा सार्वजनिक स्थानहरूमा संकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूको समेत कानुनी प्रक्रिया अनुसार निगरानी र परीक्षण गर्नुपर्ने आवश्यकता देखिन्छ।
आजको चुनौती केवल मदिरा सेवनमा मात्र सीमित छैन। लागू पदार्थको प्रयोग पनि समाजका लागि झन् ठूलो खतरा बन्दै गएको छ। त्यसैले सम्बन्धित निकायले लागू पदार्थको ओसारपसार, बिक्रीवितरण र सेवनमाथि विशेष निगरानी बढाउनुपर्छ। आवश्यक कानुनी प्रक्रिया र मानव अधिकारको सम्मान गर्दै प्रभावकारी जाँच, निगरानी र नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न सके समस्या न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्न सक्छ।
मादक पदार्थको लत हटाउन परिवार, विद्यालय, समाज र राज्य सबैको साझा प्रयास आवश्यक हुन्छ। परिवारले सन्तानसँग खुला संवाद गर्नुपर्छ, विद्यालयले जीवनोपयोगी शिक्षा दिनुपर्छ, समाजले कुलतविरुद्ध अभियान सञ्चालन गर्नुपर्छ र राज्यले उपचार, पुनर्स्थापना तथा नियन्त्रणका प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ। कुलतमा फसेका व्यक्तिलाई केवल दोषीका रूपमा होइन, सुधार र पुनर्स्थापनाको अवसर आवश्यक पर्ने नागरिकका रूपमा हेर्नु पनि उत्तिकै महत्वपूर्ण छ।
मादक पदार्थ र लागू पदार्थको समस्या कुनै एक व्यक्ति वा परिवारको मात्र समस्या होइन भन्ने हामीले बुझ्नु पर्दछ, यो सम्पूर्ण समाज र राष्ट्रको साझा चुनौती हो। आजको युवापुस्तालाई कुलतबाट जोगाउन सकियो भने मात्र समृद्ध र सभ्य समाज निर्माण सम्भव हुन्छ। त्यसका लागि राज्यले अझ सक्रिय, प्रभावकारी र उत्तरदायी भूमिका निर्वाह गर्नुपर्छ। समयमै सचेत भएर कदम चाल्न सकिएन भने यसको मूल्य व्यक्ति, समाज र राष्ट्रले निकै महँगो रूपमा चुकाउनुपर्नेछ। अब नियन्त्रण, निगरानी, उपचार र जनचेतनालाई सँगसँगै अघि बढाउने सके मात्र समस्याको समाधान हुन्छ। अन्यथा मादक पदार्थ सेवन ९मापसे० र लागु पदार्थ सेवन ९लापसे० ले समाज आक्रान्त बन्दै जानेछ ।




