गोकुलेश्वर माविको अत्याधुनिक भवनको शिलान्यास, २०८४ चैतभित्र सम्पन्न गर्ने लक्ष्य

दार्चुला । नेपाल–भारत विकास सहयोग कार्यक्रम अन्तर्गत भारत सरकारको ९० प्रतिशत अनुदान सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालयमा निर्माण हुन लागेको अत्याधुनिक शैक्षिक भवनको निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ठ नन्दन र शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजय सिंह धामीले सोमबार संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गर्दै परियोजनाको शुभारम्भ गर्नुभएको हो।

भारत सरकारको हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) अन्तर्गत निर्माण हुने यस परियोजनाको कुल लागत डिपिआरसहित १९ करोड ३३ लाख ४८ हजार १४० रुपैयाँ छ। परियोजना करिब ९० प्रतिशत भारत सरकार र १० प्रतिशत नगरपालिकाको लगानीमा कार्यान्वयन हुनेछ। भवन निर्माणको भ्याटबाहेक सम्झौता रकम ८ करोड ३२ लाख ८७ हजार ८ सय रुपैयाँ रहेको छ। निर्माण कार्यका लागि आर एण्ड सिएस–डिएनएस–एसकेएनएस जेभी, महाकाली नगरपालिका–५, दार्चुलासँग २०८२ चैत ३० गते सम्झौता गरिएको हो। सम्झौताअनुसार निर्माण कार्य २०८४ चैत ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने समयसीमा रहेको शैल्यशिखर नगरपालिकाका प्रशासकीय अधिकृत भोजराज भट्टले बताउनुभयो।

परियोजनाअन्तर्गत चार वटा ब्लकमा अत्याधुनिक भवन निर्माण गरिनेछ। ती भवनमा सुविधा सम्पन्न कक्षाकोठा, विज्ञान प्रयोगशाला, पुस्तकालय, छात्राबास, चमेनागृह, कबर्ड हल, घेरपर्खाल, बगैँचा तथा अन्य आवश्यक शैक्षिक पूर्वाधार निर्माण गरिने योजना छ। भवन शिलान्यास कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ठ नन्दन, शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजय सिंह धामी, नगर उपप्रमुख शान्ति खडायत, निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी जोशी, प्रधानाध्यापक पिताम्बर बिष्ट, वडा अध्यक्षसहित जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, निर्माण व्यवसायी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

परियोजना सम्पन्न भएपछि गोकुलेश्वर माध्यमिक विद्यालय आधुनिक, सुरक्षित र सुविधा सम्पन्न शैक्षिक संस्थाका रूपमा विकास हुने अपेक्षा गरिएको प्रधानाध्यापक पिताम्बर बिष्टले बताउनुभयो। भवन निर्माणपछि गोकुलेश्वर क्षेत्रका विद्यार्थीले गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक वातावरण प्राप्त गर्ने, सिकाइको स्तरमा सुधार आउने तथा समग्र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको नगरप्रमुख विजयसिंह धामीको भनाइ छ। कार्यक्रमका वक्ताहरूले दातृ निकायलाई धन्यवाद व्यक्त गर्दै भवन समयमै निर्माण सम्पन्न गर्न अनुरोधसहित शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?