प्रत्येक दस वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी तीव्र रूपमा थालिएको छ । आगामी २०७८ सालमा हुने जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले आन्तरिक तयारी थालेको हो ।
केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय जनगणना २०७८ का निर्देशक डुन्डीराज लामिछानेले कोरोना सङ्क्रमणबाट कसरी सुरक्षित रहँदै आगामी राष्ट्रिय जनगणना कार्यलाई अगाडि बढाउनेबारे छलफल तथा परामर्श भइरहेको जानकारी दिनुभयो ।
साथै जनगणनाका लागि आवश्यक पर्ने सामग्रीको टेन्डर प्रक्रियासमेत अघि बढाइएको निर्देशक लामिछानेको भनाइ छ । आगामी जनगणनामा कागजी प्रश्नावली, ट्याबलेटको प्रयोग तथा विदेशमा रहेका कूटनीतिक नियोगमा ई–सेन्सस प्रणालीबाट जनगणना गर्ने तयारी छ ।
ट्याबलेट विधि काठमाडौँ उपत्यकाका केही नगरपालिकामा प्रयोग गर्ने र विदेशमा रहेका कूटनीतिक नियोग तथा दूतावासमा रहेका कर्मचारीको इन्टरनेटमार्फत जनगणना गरिने लामिछानेले जानकारी दिनुभयो । त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत विवरण सङ्कलन गर्ने तयारी गरिएको छ ।
झन्डै ६० हजारलाई अस्थायी रोजगारी
राष्ट्रिय जनगणना कार्यमा आँकडा सङ्कलन, विश्लेषणदेखि प्रशोधनको कार्यसम्म झन्डै ६० हजार जनशक्ति लाग्ने अनुमान गरिएको छ । जनगणनाका लागि फिल्डमा मात्रै करिब ४२ हजार गणक र ९ हजार सुपरिवेक्षक परिचालन गर्ने तयारी गरिएको निर्देशक लामिछानेले जानकारी दिनुभयो ।
यस वर्ष शिक्षकको स्थानमा बेरोजगार युवायुवतीलाई गणकको रूपमा परिचालन गर्ने तयारी थालिएको छ । उनीहरुले १ महिना अस्थायी रोजगारीको अवसर पाउनेछन् । जनगणनाका लागि प्रश्नावली निर्माण भईकन मन्त्रिपरिषदले पास गरेर नेपाल राजपत्रमा समेत प्रकाशन भइसकेको छ ।
गणना पुस्तिका तथा सुपरिवेक्षण पुस्तिकाहरु अहिले छपाइका प्रक्रियामा रहेको छ । यस्तै कसरी जनगणना गर्ने भन्ने जानकारीयुक्त पुस्तक पनि छपाइको प्रक्रियामा रहेको छ । यस्तै अन्य गणना सामग्रीहरु छाता, झोला, टोपी लगायतका सामग्री पनि खरिद गर्ने प्रक्रियामा रहेको निर्देशक लामिछानेले जानकारी दिनुभयो ।
पूरै जनगणना सम्पन्न गर्न करिब ४ अरब रुपैयाँ लाग्ने निर्देशक लामिछानेले जानकारी दिनुभयो । यो खर्चमध्ये ९९ प्रतिशत नेपाल सरकार र १ प्रतिशत हाराहारीमा दातृ निकायको सहयोग रहने अनुमान गरिएको छ ।
अनलाइनबाट गणक र सुपरिवेक्षकको विज्ञापन खोलिने राष्ट्रिय जनगणनाका लागि अनलाइनमार्फत गणक र सुपरिवेक्षकको विज्ञापन खोलिने छ । अघिल्लो पटक जस्तो अगामी जनगणनमा शिक्षकलाई प्रयोग नगरिने भएको छ यद्यपि सुपरिवेक्षमकमा भने शिक्षकलाई राखिने भएको छ ।
गणकमा भने बेरोजगार रहेका युवायुवतीलाई प्राथमिकतामा राख्ने तयारी छ । निर्देशक लामिछानेले भने– ‘हामी अनलाइन भर्ना प्रक्रिया खोल्छौँ, त्यसका लागि एक, दुई महिनाको समय दिन्छौँ ।
गणकहरुमा स्थानीय तहको आवश्यकताका आधारमा हामी मान्छे लिन्छौँ । हामीले केन्द्रबाट, जिल्लाबाट पठाउने हैन, स्थानीय तहमै बसोबास गर्ने मान्छेलाई लिन्छौँ । अनलाइनमा आवेदन परेपछि सर्ट लिस्टमा राखेर जिल्लाले भर्ना गर्छ । गणकका लागि १२ कक्षा पास भएको हुनुपर्छ ।
सुपरिवेक्षकका लागि स्नातक तह पास गरेको हुनुपर्छ ।’ १ महिना अवधिका लागि गणक र २ महिना अवधिका लागि सुपरिवेक्षक लिने तयारी गरिएको छ । सुपरिवेक्षकले वैशाख २४ देखि जेठ १४ सम्म गणना फारम भर्ने काम गर्छन् । मुख्य गणना जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ ।




