दार्चुला । डाडाबाग आधारभुत विद्यालय किमिचोर डिलाशैनी गाउँपालिका वडा नम्बर २ कपट्टाका प्रधानाद्यापक अन्दाजी ४५ वर्षीय गोबिन्द घरडीको हत्या भएको आशंका गरिएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ शिवपुरी धाम जग्वाचौर नजिक गोकुलेश्वर बजारतर्फ सडक किनारको भिरमुनी नालीमा मंगलबार बिहान प्रधानाद्यापक घरडीको शव फेला परेको छ । मृतकको टाउँकोमा धारीलो हतियार प्रहार भएको जस्तो देखिने घाउँ र शरीरमा निलडाम रहेको आफन्तहरुले बताएका छन् ।
मृतकको साथमा ८६ हजार नगद रुपैँया सहित झोला, मोबाइल लगायतको सामान फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी निरीक्षक खगेन्द्रसिह साउँद नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । आज बिहान नालीमा फेला परेको शबको पहिचान भइसकेको र घटनाबारे अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो ।
सोमबार बिहान शिक्षकहरुको तलबभक्ता भुक्तानी गर्न घरबाट गोकुलेश्वर आएका प्रधानाद्यापक घरडीको गाउँ जाने बाटो नै नपर्ने सडक माथिको आरसीसी नहर (कुलो) भित्र शव फेला परेपछि हत्याको आशंका गरिएको हो । घरबाट संगै गोकुलेश्वर आएका अरु चार जना भने सकुसल घर पुगेका थिए ।
मृतक घरडीसंगै समैजी माबि गन्नाका शिक्षक दिनेश बोहरा र शिवराम लुहार, आबि किमिचौर कपट्टाकै शिक्षक महेश घरडी र गन्नाका स्थानीय व्यापारी जनक भण्डारी गोकुलेश्वर बजार आएका थिए । मृतक घरडीले नै सम्पर्क गरेको गाडीमा उनिहरु चारै जना घर फर्किएपनि घरडी घर फिर्ता भएका थिएनन ।
घरडी सम्पर्कमा नआएकोले आफुहरु बेलुकी घर फर्किएको उनिहरुको प्रतिक्रिया रहेको बताइएको छ । प्रधानाद्यापक घरडीको मृत्यु भइसकेपश्चात सोधपुछका लागि उहाँसंगै बजार आएका चारैजनालाई प्रहरीले सम्पर्कमा ल्याएको छ । घटनाबारे प्रारम्भीक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रधानाद्यापक घरडीको घरमा कान्छी श्रीमती, तीन छोरा र दुई छोरी रहेका छन् । घरडीले जेठी श्रीमतीको केहि वर्ष पहिले मृत्यु भएपश्चात दोस्रो विवाह गरेको आफन्तजनले बताएका छन् ।
शैल्यशिखरको गोकुलेश्वरस्थित नालीमा एक पुरुषको शव फेला (भिडियो)




