दार्चुला । डोटीको तलारा क्षेत्रमा ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती आयोजना निर्माण गर्न ढिलाइ भएको भन्दै सोमबार स्थानीयले डोको प्रदर्शन गरेका छन् ।
पश्चिम सेती आयोजना निर्माणका लागि वर्षाैँदेखि दबाब दिँदै आएको बोलन्याथली नामक संस्थाको आयोजनामा सात सय ५० डोका सङ्कलन गरी प्रर्दशन गरिएको हो ।
पश्चिम सेती जलविद्युत् आयोजना कार्यान्वयन हुन नसकेको भन्दै विरोध स्वरुप ढुङ्गाडमा प्रदर्शन गरिएको संस्थाका संयोजक यादव जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पश्चिम सेती चाँडो बनाउनका लागि हामीले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छौँ, अहिले ७५० डोका प्रदर्शन गरेका छौँ, अझै निर्माण गर्न ढिलाइ गरे सशक्त आन्दोलन गर्न बाध्य हुनेछौँ ।’ सुदूरपश्चिमका बैतडी, डडेलधुरा तथा डोटी जिल्लाबाट सङ्कलन गरिएका सात सय ५० डोका दबाबका लागि प्रदर्शन गरिएको हो ।
बोलन्याथलीले डोकासहित विशाल जनसभाको पनि आयोजना गरेको थियो । यसअघि पनि यस संस्थाले डोटीको दिपायलमा रहेको सेती नदीमाथिको पक्की पुलमा गएको वैशाख १ गते पश्चिम सेतीको निर्माण चाँडै गरियोस् भन्दै सात सय ५० मैनबत्ती बालेर विरोध गरेको थियो ।
बोलन्याथलीले काठमाण्डौको माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल, सङ्गीत सङ्घर्ष कार्यक्रम पनि गरिसकेको छ ।





प्रतिक्रिया