दार्चुला । गृह मन्त्रालयले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक गतिविधितर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ ।
विप्लव समूहले मोरङको मिक्लाजुङमा शिक्षकको हत्या गरेको भोलिपल्ट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाउनु भएको थियो ।
गृह मन्त्रालयमा बसेको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत सहभागी रहनुभएको थियो । उहाँहरुले विप्लव समूहको पछिल्लो गतिविधिबारे रिपोर्टिङ गर्नु भएको थियो ।
छलफल विप्लव समूहको गतिविधि, त्यसमा पनि मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा बढी केन्द्रित थियो ।
विप्लव समूहले हिजोका दिनमा कालोमोसो दल्ने, विष्फोटनका घटना गराएर तर्साउने गरेको भएपनि पछिल्लो समय नीति परिवर्तन गरेको देखिएको गृहमन्त्री बादलको विश्लेषण छ । श्रेष्ठ हत्याको विप्लव समूहले जिम्मेवारी लिइसकेकाले सुरक्षा तैनाथीलाई थप बढाएर निगरानीलाई सशक्त बनाउनुपर्ने गृहमन्त्री थापाको जिकिर गर्नु भयो ।
घटना भएको आसपासका जंगलमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीले सर्च अपरेसन चलाइरहेको छ, भने बुधबार बसेको जिल्ला समन्वय समितिको बैठकले त्यसक्षेत्रमा स्थायी प्रहरी कार्यालय राख्न पनि प्रस्ताव गरेको छ । यस विषयमा तत्कालै निर्णय हुने गृह मन्त्रालय स्रोतले जनाएको छ ।
मंगलबार बिहान मोरङमा शिक्षकको हत्या भएको स्थान जिल्लाको सबैभन्दा विकट र पहाडी भेगसँग जोडिएको क्षेत्र हो । घटनाबारे ९ बजे खबर पाएर मधुमल्लाबाट हिँडेको टोली दिउँसो २ बजे मात्र घटनास्थलमा पुगेको थियो ।
बैठकमा पछिल्लो समय राजावादीहरुको बढ्दो प्रदर्शनको विषयमा पनि गृहमन्त्री थापाले चासो राखेको बताईएको छ ।





प्रतिक्रिया