विवाह गरेको तीन दिनमा दाजुले गरे बहिनीको हत्या

दार्चुला । आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ।

पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो।

करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन्।

विवाह गरेको तीन दिनपछि सोमबार दाजु सञ्जीवले बहिनी सकुन्तलाको घरैबाट उनलाई जङ्गलमा लगेर हत्या गरेको खुल्न आएको हो।

हत्या हुुनुुभन्दा अघिल्लो राति दाजु सञ्जीवको फोनबाट पटकपटक धम्की आइरहेको र बिहान आफैँ हाम्रो घरमा आएर सकुन्तलालाई लगेर हत्या गरेको उहाँका श्रीमान् दिनेशले बताउनुभयो ।

“हाम्रो घरायसी व्यवहार छ भन्दै दाजुु सञ्जीवले सकुुन्तलालाई साथैमा लगेर जानुभयो। घरबाट हिँडेको केही समयपछि नै सकुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुखोला नजिकैको जङ्गलमा हत्या भएको अवस्थामा फेला पर्यो’ उनले भने।

भिनाजुको घरबाट हिँडेको करीब एक घण्टामै दिदीको हत्या भएको हुनसक्ने सकुन्तलाका भाइ समीर राईले बताउनुभयो ।

‘दाजुु सञ्जीवले दिदीलाई जङ्गलमा लगेर कुट्दै गरेको भेडा गोठालाले देखेका रहेछन्। आफूूले रोजेको केटासँग विवाह नगरी अर्कै केटासँग विवाह गरेको झोँकमा हत्या गरिएको छ। हत्यामा संलग्न दाजु सञ्जीवलाई कडाभन्दा कडा कारवाही गरियोस्” उनले भने।

विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर आएका थिए।

भाइ समीरका अनुसार सकुुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेको समयमा काठमाडौँमा सिलाइकटाइ पेशा गर्दै आएकी थिइन्।

केही समय अगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुन्तलाले आफूसँग पनि दाजुु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै दबाब दिने गरेको जानकारी दिएको भाइ समिरले बताए।

सकुन्तलासँग तीन दिन अघिमात्र विवाह गरेका दिनेशले पनि श्रीमतीको हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गरेका छन्।

घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो।

“घटनाका बारेमा अनुसन्धान भइरहेको छ। हत्यारा नियन्त्रणमा रहेकाले केही समयपछि सत्यतथ्य सार्वजनिक गरिनेछ” उहाँले भन्नुभयो।

दाजुको कुटाइबाट ज्यान गुमाएकी सकुन्तलाको शरीरको विभिन्न भागमा चोट तथा नीलडाम देखिएको आफन्तले बताएका छन्।

उत्तिसको लाथ्रो (लौरो) ले हानेर हत्या गरिएकी सकुन्तलाको शव मङ्गलबार जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि माइतीपक्षले जिम्मा लिएर दाहसंस्कार गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?