दार्चुला । नेकपा ओली समूहका नेता लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री अहिल्यै चाहियो भनेर केटाकेटीपन देखाएको टिप्पणी गर्नुभएको छ ।
ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै भट्टले केटाकेटीले जिद्धी गरे जसरी प्रधानमन्त्री चाहियो भनेर माइतीघर मण्डलामा लडिबुडी गरेको बताउनुभयो । उनले अघि भन्नुभयो, ‘राति सुत्दा पनि प्रधानमन्त्री नै देख्छन् ।’
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आम चुनावपछि प्रधानमन्त्री र महाधिवेशनपछि अध्यक्ष पद छाड्छु भन्दा पनि प्रचण्ड र माधवकुमार नेपाललगायतले धैर्य गर्न नसकेको बताउनुभयो । नेताहरुमा बिचलन आएको उहाँले दाबी गर्नुभयो ।
उद्योगमन्त्री भट्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउँदै आएको आरोप लगाउनुभएको छ ।
भट्टले पुष्पकमल दाहाल प्रचण्ड ‘हामी यहाँ छौं’ भन्दै सडकमा गएकोले खोज्न जानुपर्ने अवस्थामा आफूहरू रहेको बताउनुभयो ।
प्रचण्डलगायत नेताहरूलाई देशको कुनाकाप्चाबाट खोजेर पार्टीमा ल्याउने आफूहरूको जिम्मेवारी रहेकोसमेत उहाँको भनाई छ ।
‘प्रचण्डहरू हामी यहाँ छौं भनेर माइतीघर मण्डलको सडकमा जानुभएको छ। उहाँहरू देशका कहाँकहाँ कुनाकाप्चामा हुनुहुन्छ खोज्न जानुपर्नेछ।’
प्रचण्डले जनयुद्ध र जनआन्दोलनका घाइतेलाई नसम्झिएको पनि भट्टले बताउनुभयो ।
‘प्रचण्ड भन्दै हुनुहुन्छ माओवादी एक ठाउँमा हुनुपर्छ। त्यसो भए माधव नेपाललाई यहाँ पठाइदिनुपर्यो,’ भट्टले भन्नुभयो, ‘एमाले र माओवादी इतिहास भइसक्यो। आजको नेतृत्व केपी ओली हो।’
प्रधानमन्त्री ओलीको नेतृत्वमा समृद्ध नेपालको सपना देखेको पनि उहाँले बताउनुभयो ।
भट्टले सडकमा गएर पार्टी एकता नहुने पनि बताउनुभयो। ओलीले निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने आँट गरेको उहाँको भनाइ छ।
‘सत्ता हस्तान्तरण र महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको आँट उहाँहरू (प्रचण्ड, नेपाल) लाई छ ?,’ उहाँले प्रश्न गर्नुभयो ।
ओलीसँग सही विचार रहेको दाबी भट्टको छ।
प्रचण्डले सरकारले गरेका काम नदेखेको पनि भट्टले बताउनुभयो ।
‘उहाँहरूले प्रधानमन्त्री र सरकारले गरेका काम कहाँ देख्नु हुन्छ?,’ उनले भने, ‘उहाँहरू त सत्ता मात्रै हेर्नुहुन्छ।’
उहाँले नेकपाबाट सानो झिल्का फुटेर गएको पनि दाबी गर्नुभएको छ ।





प्रतिक्रिया