दार्चुला । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई निलम्बन गर्नुभएको छ ।
मुख्यमन्त्री शेरधन राईले संसदीय गतिविधिमा संलग्न हुन नपाउने गरी दलको नेताको हैसियतमा निलम्बन गर्नु भएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनुभयो ।
गएको सोमबार दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने १९ जना सांसदलाई दलको नेताको हैसियतमा राईको निर्देशनमा स्पष्टिकरण सोधिएको थियो ।
स्पष्टिकरण सोधिएकामध्ये १५ जनालाई संसदबाट निलम्बन गरिएको प्रमुख सचेतक राजभण्डारीले बताउनुभयो ।
निलम्बनमा परेका सांसदहरुमा भीम प्रसाद आचार्य, राजेन्द्र राई, मोहनकुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, टंक आङ्बुहांङ, साबित्राकुमारी रेग्मी र सरिता थापा छन् ।
यसैबिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर भीमप्रसाद आचार्यलाई दलको नेता चयन गरेको हो ।
प्रदेश १ मा नेकपाका ६७ सांसद रहेकामा ३७ जना सांसदले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । बुधबारको बैठकमा भने ३६ जना उपस्थित भएका थिए ।





प्रतिक्रिया