दार्चुला । दार्चुला सदरमुकाम खलंगाको सीमा क्षेत्रमा भारतले महाकाली नदी मिचेर जवरजस्ती पक्की तटबन्ध निर्माण गरिरहेको छ । महाकालीको बाढीले २०७० सालमा खलंगाका एक दर्जन सरकारी कार्यालयसहित एक सय ५६ घर बगाएको थियो । भारतकै धौँलीगांगा बाँधका कारण सात वर्ष पहिले ठूलो धनजनको क्षती व्यहोरेका खलंगावासी महाकाली मिचेर तटबन्ध निर्माण हुन थालेपछि त्रसित बनेका छन् ।

बाढीले निरन्तर पु¥याउने क्षति घटाउन नेपालले महाकाली किनारमा २०७१ सालमा तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले धारचुलाबाट माइकिङ गरेर रोकेको थियो । सीमा नदीमा आफूखुसी तटबन्ध बनाउँदा आफ्नो भूभाग डुब्न सक्ने भन्दै भारतले नदीभन्दा परै बाँध लगाउन भनेको थियो । भारतको अनुरोध पछि नेपालले नदीको किनारभन्दा झण्डै एक सय मिटर वरै तटबन्ध निर्माण गरिरहेको छ । तर त्यही ठाउँको उतापट्टि भारतले अहिले नदी नै पुर्दै एकतर्फी तटबन्ध बनाइरहेको छ ।

No description available.

 

दार्चुला जिल्ला प्रशासनले उक्त निर्माण कार्य रोक्न भारतको धारचुला पिथौरागढका उपजिल्ला अधिकारीलाई पुस २ गते पत्राचार गरेको थियो । तर, पत्रको वेवास्ता गर्दै निर्माण कार्य निरन्तर चलिरहेको छ । नदीतर्फ ढुंगामाटो उखेल्दै डोजरहरू चलिरहदा नेपानी पक्ष मुखदर्शक भएर बस्नुपरेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भन्नुभयो, भारतले काम गरिरहेको छ भन्ने कुरा नेपाल सरकारलाई पनि जानकारी गराइसकेको छु । हाम्रो पत्रको सुनुवाई नभएपछि परराष्ट्र मन्त्रालयको पत्र कुरिरहेका छौं । गृह र परराष्ट्र मन्त्रालयलाई पुस २ गते नै पत्राचार गरिसकेको र परराष्ट्रबाट आफूलाई जानकारी प्राप्त नभएको पोखरेलले बताउनुभयो । सीमा नदीमा बिना समन्वय काम गर्न नहुने उहाँको भनाई छ ।

No description available.

सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीद्धारा हस्ताक्षरीत भारतलाई पठाइएको पत्रमा लेखिएको छ, ‘प्रस्तुत विषयमा २०७० असार २ गते महाकाली नदीमा अविरल वर्षापछि आएको बाढीले नेपाल–भारत सीमा नाका वारिपारि रहेको क्षेत्र कटान गरी कतिपय क्षेत्रमा पानीको बहावका कारण नदी किनार रहेको सीमा नाका क्षेत्रको भौगोलिक स्वरूप परिवर्तन भएको छ ।

सो सम्बन्धमा यस जिल्लाको महाकाली नगरपालिका–५ गल्फै क्षेत्र भौरादगड, महाकाली नदी किनार रहेको जिल्ला अस्पताल दार्चुलाको सीमापारि भारततर्फ हाल सुरक्षा÷चेक वाल बाँध बनिरहेको स्थान महाकाली नदीमा बाढीपूर्व साविक नेपालतर्फकै भूमि रहेको, तर, हाल उक्त स्थानमा एस्काभेटर, जेसीबी आदि उपकरणबाट उत्खनन गर्न थालेको देखिदा नेपाल पक्षसंग आवश्यक समन्वय बिना उक्त वाल महाकाली नदी किनारमा बनाउन लागिएको निर्माण कार्यलाई यथाशिघ्र रोक्न हुन जानकारीका लागि आदेशानुसार अनुरोध छ, पत्रमा भनिएको छ । प्रशासन कार्यालयले गृह मन्त्रालयलाई पनि सोही दिन यसबारे पत्राचार गरेको थियो । त्यहाँ एक सय हाराहारीमा कामदार खटिएका छन् ।

No description available.

महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख शोभाकर पौडेलले नेपालतर्फ पक्की संरचना बनाउँदा भारतले निर्माण रोकेको उल्लेख गर्दै भन्नुभयो, ‘उसले चाहिँ कसरी एक्लौटी गर्न सक्छ ? नेपालको भूमि हामी एक इन्च छाड्दैनौं।’ आयोजनाका तर्फबाट हुने पहलका लागि आफू जतिबेला पनि तयार रहेको उहाँले बताउनुभयो । अहिले भारतले बाँध बनाइरहेको भूभाग नदीले धार परिवर्तन गरेभन्दा पहिला नेपालकै रहेको महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्टले बताउनुभयो ।

भारतले एकलौटी ढंगले महाकालीको जरैदेखि तटबन्ध निर्माण गर्दै जाने हो भने दार्चुलावासीको उठीबास हुने महाकाली नगरपालिका–५ का स्थानीय रघुबिरसिंह ठगुन्नाले बताउनुभयो । २०७० को बाढीले दार्चुलालाई तहसनहस गरेको थियो । नेपाल सरकारले कुटनीतिक पहल गरेर निर्माण कार्य यथाशिघ्र रोक्न लगाउनुपर्ने स्थानीयको माग छ ।

No description available.

भारतीय पक्षले विगत वर्षहरुमा नेपालसँग समन्वय नगरीकनै विभिन्न ठाउँमा काठेपुल बनाउदै आएको थियो । त्यतिमात्र हैन, नेपाली भूमि कालापानी, लिपुलेकसम्म सडक विस्तार गरेर नियमित यातायातका साधनहरु निर्बाध रुपमा सञ्चालन गरिरहेको छ । भारतीय सडकका कारण महाकालीको सतह खुम्चिँदै गएको छ, भने नेपालतर्फ कटान समेत हुने गरेको व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताउनुभयो । सीमा अतिक्रमण र सीमा क्षेत्रमा निर्माण हुने गरेका एकतर्फी संरचनाले नेपाली भूमि उच्च जोखिममा परेको छ ।’

 

No description available.

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?