दार्चुला । माघी अर्थात नरहरी पर्व दार्चुलासहित सुदूरपश्चिममा हर्षोउल्लासका साथ मनाइएको छ ।
स्थानीय भाषामा ‘नरहरी’ भनिने यो पर्व माघे संक्रान्तिका नामले पनि चिनिन्छ । माघे संक्रान्तिको दिनदेखि भगवान तथा देविदेवताको उपासाना गर्ने धार्मिक महिनाको शुरुवात भएकाले माघीलाई नरहरी (मानिस भगवानमा लिन हुनु) भन्ने गरिएको स्थानीय संस्कृतिका जानकार जयराज पन्तले बताउनुभयो ।
पुषमा पाक्य, माघमा खाक्यका नामले पनि चिनिने यो पर्वमा पुसे तिहार अर्थात पुष मसान्तको राती पकाएको सेल, रोटी तथा अन्य मिठापरिकार माघे संक्रान्तिका दिन कागलाई खुवाउने चलन रहेको छ ।
हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने र माघ १ गते विहानै स्नान गरेर कागलाई सेलरोटी खुवाउने चलन रहेको पन्तले बताउनुभयो ।
बिहानै नुहाई धुवाई गरी ‘का कौवा का–का, मेरो रोटी खा’ ‘का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने प्रचलन रहेको छ ।
धर्मशास्त्रमा अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । माघ महिना धार्मिक महिना भएकाले माछा मासु पनि खानु हुँदैन भन्ने पुस्तौदेखि चलिआएको प्रचलन छ ।
पुषे त्यार तथा माघे संक्रान्तिलाई आफन्त एवं इष्टमित्रहरूसँग भेटघाट गर्ने पर्वको रूपमा लिइने गरिएको छ । माघीको दिन हरियो वनस्पती काट्नु हुदैन भनेर अघिल्लो दिननै घाँस, तरकारीको जोहो गरेर राख्ने गरिन्छ ।
माघीको दिन गाउँभरीका मानिस जम्मा भएर खेल खेल्ने, सुखदुःखका कुराहरु साटासाट गर्ने प्रचलन पनि रहेको लेकम गाउँपालिकाका स्थानीय प्रेम बिष्टले बताउनुभयो ।




