दार्चुला । दार्चुलामा शुक्रबार बेलुकीदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । टेलिफोन र इन्टरनेटले काम नगर्दा सम्पर्कविहिन हुनुपरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
दार्चुलाको लेकम क्षेत्रमा शुक्रबार बेलुकी ६ बजेदेखि टेलिफोन लाइन अवरुद्ध भएपछि सञ्चारको माध्यमबाट गर्नुपर्ने काम गर्न नपाएको तथा घरभन्दा टाढा रहेका आफन्त, इष्टमित्रहरुसंग सम्पर्क गर्न नसकिएको लेकम गाउँपालिका वडा नम्बर ५ चौपाताका मनोज जोशीले गुनासो गर्नुभयो । टेलिफोन र इन्टरनेटको माध्यमबाट आदानप्रदान गर्नुपर्ने खबर सम्बन्धित व्याक्तिसम्म पुर्याउन नसकिएको सेवाग्राहीले बताएका छन् ।
टेलिफोनमा लाइन अर्थात टावर देखाएको भएपनि काम गरेको छैन् । धेरै पटक एउटै नम्बर डाइल गरेमात्रै फोनको घण्टी गइरहेको छ, फोन लागेपनि नसुनिने र नउठने समस्या देखा परेको जोशीले बताउनुभयो । फोन नम्बर डाइल गर्दा सिधै कल इन्ड देखाएर फोन काटिने गरेको सेवाग्राहीको गुनासो छ ।
टेलिफोन र इन्टरनेट सेवाले काम नगर्दा व्याक्तिगत कामका साथै सरकारी, संघसंस्था र सञ्चारमाध्यमका कामहरु समेत प्रभावित भएका छन् । टेलिफोन लाइन नभएकै कारण सञ्चार सेवा कुन कारणले वा कसरी अवरुद्ध भएको हो भन्ने विषयमा नेपाल टेलिकम दार्चुला र नेपाल टेलिकम केन्द्रिय कार्यालयलाई बुझ्नका खोज्दा सम्पर्क नै हुन नसकेको पत्रकार उमेश धामीले बताउनुभयो ।
सौर्य उर्जाबाट सञ्चालित नेपाल टेलिकमका टावरहरु बेलाबेला विद्युत अभावमा अवरुद्ध हुने गरेको भएपनि शुक्रबार र शनिबार घाम लागेकोले अरु नै प्राविधिक समस्याका कारण सञ्चार सेवा अवरुद्ध भएको हुनसक्ने अनुमान गरिएको छ ।




