दार्चुला जिल्लामा पर्ने मालिकार्जुन गाउँपालिका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्ट्रिकोणले महत्वपूर्ण गाउँपालिका हो । संघीयतापछि आठ वडामा विभाजित मालिकार्जुन गाउँपालिकाले साविकका मालिकार्जुन, डाडाकोट, उकु, भगवती, हुनैनाथ र शंकरपुर गाउँ विकास समिति भित्र पर्ने सम्पूर्ण क्षेत्र ओगटेको छ । यस गाउँपालिकाको पूर्वमा शैल्यशिखर नगरपालिका, पश्चिममा पवित्र माहाकाली नदी (भारतको सिमाना), उत्तरमा महाकाली नगरपालिका र दक्षिणमा लेकम गाउँपालिका रहेको छ । मालिकार्जुन गाउँपालिकामा पवित्र धार्मिक एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालकै सातौँ धाम शैल्यशिखर मालिकार्जुन लगायत विभिन्न देवीदेवताका मन्दिरहरु, उकु महल लगायत सम्पदाहरु र खोलानाला, वनजंगल, ढुङ्गा, स्लेट, जडीबुडी, वन पैदावार, कृषि, पशुपालन, नगदेबाली लगायतका थुप्रै सम्भावना रहेका छन् ।

नेपाली काग्रेशको तर्फबाट स्थानीय तहको निर्वाचनमा मालिकार्जुन गाउँपालिका अध्यक्ष पदमा निर्वाचित नरेन्द्रसिहं धामी समाजसेवी र नेपाली काग्रेश दार्चुलाको बौद्धिक युवा नेताको रुपमा चिनिनुहुन्छ । यतिबेला प्रस्तुत छ, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिहं धामीसंग पत्रकार लोकेन्द्रप्रसाद जोशीले गरेको संक्षिप्त कुराकानी :-

१. मालिकार्जुन गाउँपालिकामा हालसम्म सम्झनयोग्य के–के काम गर्नुभयो ?

हामी निर्वाचित भइसकेपछि मालिकार्जुन गाउँपालिकाको विकास निर्माण र यहाँको समग्र सवालमा भन्नुपर्दा २०७४ सालको नीति तथा कार्यक्रमदेखि नै पहिलो प्राथमिकता यातायात क्षेत्रलाई दिएर काम गरिरहेका छौँ । आठ वटा वडामा विभाजित मालिकार्जुनको वडा नम्बर २ भगवती र वडा नम्बर ५ डाडाकोट बाहेकका सबै वडामा सडक पुगिसकेको छ । चालु आर्थिक वर्ष भित्रै सवै वडालाई सडकमार्गमा जोडिसक्ने लक्ष्यका साथ झण्डै पाँच करोड बजेटमा ११ वटा सडकखण्डहरु निर्माणाधिन अवस्थामा छन् । मालिकार्जुन–न्वालपानी, मालिकार्जुन–बसेडी, शंकरपुर–डाडाकोट, शंकरपुर–जोलजिबि, शंकरपुर–सलेती, थक्तोली–रञ्जनी, धामीगाडा–खुना लगायतका सडकमा गाउँपालिका, प्रदेश र संघबाट प्राप्त श्रोत साधनलाई आवश्यकता र औचित्यको आधारमा विनियोजन गरेका छौँ । यातायातबाट बञ्चित रहेका क्षेत्रलाई सडकमार्गमा जोड्नुका साथसाथै शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, विद्युत लगायत विभिन्न क्षेत्रको विकासमा उल्लेख्य कामहरु गरेका छौँ ।

२. निर्वाचित भएको तीन वर्ष बित्यो, स्थानीय तहको नेतृत्व गर्दा हालसम्मको अनुभव कस्तो रह्यो ?

इमानदारीताका साथ भन्नुपर्दा हामी निर्वाचित भएर जनसेवा गर्ने अवसर पाएपछि स्थानीय तहको आफ्नै श्रोत–साधन अभावमा संघीय र प्रदेश सरकारको विशेष र समपुरक अनुदानकै भरमा गाउँपालिका चलेको अवस्था छ । प्राप्त अनुदानलाई गाउँपालिकावासीको आवश्यकता र भगौलिक क्षेत्रफल तथा जनसंख्याको आधारमा बजेट विनियोजन तथा कार्यान्वयन गर्ने गरेका छौँ । र अहिले आएर हेर्दा चुनावको बेला गरेका प्रतिबद्धता एकै पटक सम्बोधन गर्न नसकिएपनि गाउँपालिकाबाट प्राप्त सेवाबाट गाउँपालिकावासी सन्तुष्ट रहेको विस्वास लिएको छु । निर्वाचित भएपछि धेरै कुराहरुको सिकाई पनि भएको छ ।

No description available.

३. मालिकार्जुन गाउँपालिकालाई समृद्ध बनाउने अल्पकालिन र दीर्घकालिन योजना के के ल्याउनु भएको छ ?

समृद्धिको पहिलो आधारको रुपमा रहेको यातायातलाई गाउँगाउँसम्म पुर्याउन सके हरेक सम्भावना नजिक आउने भएकोले यातायातलाई पहिलो प्राथमिकता दिएका छौँ । कृषि र पर्यटन लाई दीर्घकालिन समृद्धिको मुख्य आधारका रुपमा लिएका छौँ । मालिकार्जुनलाई भूगोल र मौसमको आधारमा हिमाल, पहाड र तराई गरी तीन तहमा विभाजन गरेका छौँ । माथिल्लो हिमाली भेगमा प्रशस्त मात्रामा चरिचरन क्षेत्र भएकोले व्यवसायिक पशुपालनको प्रचुर सम्भावना रहेको छ । हामीले व्यवसायिक रुपमा बाख्रा लगायत पशुपालन गर्दै आएका उद्यमीहरुलाई प्रोत्साहन हुने हिसाबले अनुदान उपलब्ध गराएर सहयोग गरेका छौँ । बिचको पहाडी भेग अर्थात मालिकार्जुन, हुनैनाथ, शंकरपुर, डाडाकोट क्षेत्र तरकारी र फलफुल उत्पादनको सम्भावना बोकेको क्षेत्र हो । त्यो क्षेत्रलाई फलफुल र तरकारी पकेट क्षेत्रमा राखेर कृषिकहरुलाई बिउँ र अनुदान सहयोग गर्दै आएका छौँ । महाकाली तटिय क्षेत्रको तराइ भेग अर्थात उकु, बाकु, जोजजिबि, डिन्सीलाई धान पकेट क्षेत्रको रुपमा स्वीकृत गराएका छौँ । तीन वटै क्षेत्रमा कृषकको मागको आधारमा सहयोग पुर्याएका छौँ । त्यसकारण कृषि र व्यवसायिक पशुपालन यो गाउँपालिकाको समृद्धिको पहिलो आधार हो ।

त्यसैगरी आराध्यदेब मालिकार्जुन देबस्थलका संगसंगै हुनैनाथ, बण, जगदम्बे, मानै, ठिङ लगायत मठ–मन्दिरहरु, उकु महल, ऐतिहासिक जोलजिबि संगमस्थल लगायत धार्मिक पर्यटकिय क्षेत्रहरुमा पनि पर्यटकिय पुर्वाधार विकास गर्न सकेमा पर्यटनको माध्यमबाट पनि गाउँपालिकाको समृद्धि हुने हुदा हामीले पर्यटन क्षेत्रलाई पनि महत्तका साथ अगाडी बढाएका छौँ । यसका लागि नेपाल सरकार र गाउँपालिकाले राष्ट्रिय धाम मालिकार्जुनको पर्यटकिय पुर्वाधार गुरुयोजना अगाडी बढाएको छ, भने मालिकार्जुन क्षेत्रमा आउने धार्मिक पर्यटकहरुलाई अन्य देवस्थलहरुमा पनि पुर्याउनु पर्यो भनेर हामी त्यहाको पनि बाटोघाटो, आवास, खानेपानी, शौचालय आदिका लागि प्रयासरत छौँ ।

४. मालिकार्जुनमा अवस्थित ऐतिहासिक धार्मिक र पुरातात्तविक महत्तका स्थानहरुको संरक्षण र सम्बर्धनका लागि के कस्ता योजना तथा कामहरु गर्नुभयो ?

निर्वाचित हुनुभन्दा पहिले पनि म मालिकार्जुन पर्यटन विकासको अध्यक्ष थिए । त्यतिबेला भक्तजनको सजिलोको लागि धर्मशाला, अतिथि गृह, शौचालय, खानेपानी, घण्ट व्यवस्थापन लगायका काम गरेका थियौँ, भने अहिलेपनि मालिकार्जुन देवस्थलबाट ३२ सय मिटर माथि रहेको मालिकार्जुन धाम जानका लागि २७ सय मिटर पीसीसी बाटो निर्माण गरेका छौँ । मालिकार्जुन मन्दिर भन्दा नौँ सय मिटर तल रहेको चौड मन्दिर सम्म पनि पीसीसी बाटो निर्माण गरेका छौँ । मालिकार्जुनको भण्डार गृह मड देखि मन्दिरसम्मको पीसीसी बाटोका लागि पनि बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिमकै उत्कृष्ट ऐतिहासिक महत्तको उकु महलको डिपिआर (विस्तृत अद्ययन प्रतिवेदन) गर्नका लागि स्थानीयसंग छलफल गरेका छौँ । उकु महलको अद्ययन, अनुसन्धान र पुर्ननिर्माण गर्दै पर्यटकिय गन्तब्य बनाउने योजना छ।

५. मालिकार्जुन गाउँपालिकामा अनियमितता हुने गरेको जनप्रतिनिधिहरुकै आरोप सुनिन्छ ? समग्रमा सूशासनको अवस्था कस्तो छ ?

मालिकार्जुन गाउँपालिकाको तर्फबाट मेरो गुनासो केन्द्र र प्रदेश सरकारलाई दुःखका साथ भन्न चाहान्छु, निर्वाचित भएको तीन वर्ष हुन लाग्दा पाँच जना प्रमुख प्रशासकिय अधिकृत सरुवा भएर अहिले पनि प्रमुख प्रशासकिय अधिकृत विहिनताको अवस्था छ । प्रशासकिय अधिकृत नहुदा स्वास्थ्य क्षेत्रका गुणराज अवस्थीलाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएका छौँ । एक वर्षदेखि लेखापाल नहुदा गाउँपालिकाले पास गरेका योजना कार्यक्रम सञ्चालन गर्न समस्या भइरहेको छ । लेखाका कर्मचारी नहुदा वडा सचिवको भरमा लेखा चलेको छ, भने शिक्षा, महिला तथा बालबालिका, कृषि, पशु शाखाको त कुरै छाडौँ । प्राविधिक सहायकको भरमा वडा चलेको अवस्था छ । बेलाबेलामा हामीलाई अप्ठ्यारो पर्यो, हाम्रा पास गरेका कार्यक्रम सञ्चालन गर्न पनि कर्मचारी व्यवस्थापन गरिदिनुपर्यो भनेर संघ र प्रदेशलाई आग्रह गर्दा समेत व्यवस्थापन हुन नसक्दा यि समस्या पनि नआएका होइनन । तर बाहिर जे जति कुराहरु आएका छन मैले बुझेसम्म गाउँपालिकाभित्र त्यस्तो अनियमितता भएको महसुस गरेको छैन । यद्धपी हाम्रै जनप्रतिनिधि साथिहरुबाट अनियमितता भएको कुरा बाहिर आउनु दुःखको विषय हो ।

No description available.

६. कोरोना नियन्त्रण र उपचारका लागि के–के काम गर्नुभयो ?

कोरोना नियन्त्रणको निमित्त गाउँपालिकालाई अत्यन्त ठूलो चुनौतिको अवस्था थियो । शुरुमा प्रदेश र संघ सरकारको सहयोगमा जनचेतनामुलक कार्यक्रम र प्रचारप्रसार गर्यौँ । पालिका र वडामा विपद् व्यवस्थापन समिति गठन गरेर पालिकाबाहिरबाट भित्रिएका झण्डै १३ सय मानिसलाई कम्तिमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्यौँ । देश भित्र र बाहिर अलपत्र परेका मानिसलाई उद्धार गरेर गाउँपालिकाले सवारी साधन व्यवस्थापन समेत गरेको थियो । भारत अर्थात महाकाली नदीसंग सीमा जोडिएको भएकोले महाकालीबाट आउने मानिसहरुका लागि हेल्प डेस्क, क्वारेन्टाइनहरु निर्माण गर्यौँ । शुरुमा केहि मानिसमा संक्रमण पुष्टि भएपनि अहिले हाम्रो पालिका कोरोना संक्रमणमुक्त रहेको छ ।

७. बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने योजना के छ?

यतिबेला मालिकार्जुन मात्र हैन, जुनसुकै स्थानीय तहका लागि पनि बेरोजगारी समस्या अत्यन्तै चुनौतीका रुपमा रहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण भारत तथा तेस्रो मुलुकबाट रोजगारी गुमाएर सयौँ युवाहरु घरमै बस्नुपर्ने बाध्यता छ । उनिहरु परिवार पाल्न अत्यन्त कठिन र अप्ठ्यारो अवस्थामा छन । स्वरोजगारका लागि गाउँपालिकाको आफ्नो श्रोत त छैन तर केन्द्र र प्रदेशको भरमा युवा स्वरोजगारको निमित्त कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ । व्यावसायिक काम गर्न चाहानेहरुलाई सहयोग गर्ने उद्धेश्यले स्वरोजगार कोषमा २५ लाख बजेट राखेका छौँ ।

९. प्रदेश र संघ सरकारसंग के कस्ता समन्वय भएका छन् ?

हामीले गर्नुपर्ने कामहरु प्रदेश र संघ सरकारकै समन्वयमा गरिरहेका छौँ । नेपालको संबिधानले केहि एकल अधिकार र केहि साझा अधिकार पनि भएकोले संघीयताको अभ्यास गर्दा तीनै तहको समन्वयमा हाम्रा कार्यक्रम अगाडी बढाइरहेका छौँ ।

१०. मालिकार्जुनमा गाउँपालिका केन्द्रको विषयमा पनि ठूलो विवाद छ ? यसको समाधानका लागि के पहल गरिरहनुभएको छ ?

निर्वाचित भइसकेपछि २०७४ सालमा हामीले प्रशासकिय भवन निर्माणका लागि निःशुल्क जग्गादानका लागि एक हप्ताको सूचना आह्वान गरेका थियौँ । तोकिएको क्षेत्रमा जग्गादान गर्ने भनेर सात वटा निवेदन परेका थिए । उक्त निवेदनहरुको आधारमा यहि पुष २२ गते कार्यपालिकाले आवश्यक मापदण्डको आधारमा थक्तोली गाउँ र प्रहरी चौकीको बिचमा रहने गरेर प्रशासकिय भवन निर्माणको सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको शंकरपुरका स्थानीयले विरोध गरेका छन् । एघार दिनदेखि तालाबन्दी नै गरेका छन् । यो विषयमा छलफल गरेर निकास निकाल्ने प्रयासमा छौँ ।

यो कुराकानी गोरखापत्र दैनिक पत्रिकामा प्रकाशित छ ।

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?