दार्चुला । नेपाली सेनाले काठमाडौं शहरमा सोमबार राति आफ्ना बख्तरबन्द गाडीहरुको मार्च पास गरेको छ ।
सोमबार राति १० बजे काठमाडौंको सीतापाइलाबाट बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गरेको हो । सेनाले यसलाई नियमित अभ्यास भनेको छ ।
सेनाको श्री युद्ध कवच गणको अगुवाईमा गरिएको मार्च पासको दिन भने माघको १९ गते नै पर्नुमा आममानिसले आश्चर्यका साथ हेरेका छन् ।
नेपाली राजनीतिमा माघ १९ सँग नेपाली जनताको नमिठो जम्काभेट भएको इतिहास छ । राजा ज्ञानेन्द्र प्रजातान्त्रिक सरकार अपदस्थ गरेर आफ्नो हातका शासन लिँदा पनि यहि दिनलाई रोजेकाले संशय बढेको हो ।
यसअघि, माघ १८ गते नै सेनाले १९ गते गरिने यस्तो अभ्यासका बारेमा जानकारी दिएको थियो ।
उसकाअनुसार, २१ गते दिउँसो काठमाडौंबाट पाँचखाल र ८ वटा पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास गर्ने तयारी छ ।
सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडलले ट्वीटर ह्याण्डलमार्फत यससम्बन्धी सूचना सार्वजनिक गरेर यो नियमित अभ्यासबाहेक केही नभएको स्पष्ट पार्नुभएको हो ।










प्रतिक्रिया