दार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।
गत मंसिर महिनामा नेपाल सरकारले गरेको निर्णय अनुसार व्याँस गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो । बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी, छ महिनाका लागि पुग्ने खाद्यान्न, मेडिकल सामाग्री, हातहतियार र बन्दोबस्तीका आवश्यक सामानहरु दार्चुला सदरमुकाम खलंगाबाट हेलिकोप्टरमार्फत छाङरु पुर्याइएको छ ।
वीओपी स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक नारायणबाबु थापा, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल लगायत सुरक्षा अधिकारीहरु, बीओपीमा खटिने २५ जना सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी र सञ्चारकर्मी छाङरु गएका थिए ।
स्थानीयले छाङरुमा कित्ता नम्बर ३५ को ११५ रोपनी ३ आना जग्गामध्ये १५ रोपनी जमिन सशस्त्रको बीओपी स्थापनाका लागि एक वर्ष पहिले दिइसकेका छन् । नेपाल सरकारले बीओपी स्थापनाका लागि ११ करोड बजेट विनियोजन गरेको छ । छाङरुमा भौतिक पुर्वाधार निर्माण भइनसकेकोले केहि समयका लागि छाङरुबाट एक किलोमिटर वर गागामा स्थानीयको घर भाडामा लिएर सशस्त्र प्रहरी बसेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।
गत मंसिर महिनामा नेपाल सरकारले छाङरुमा बीओपी राख्ने निर्णय गरेपनि हिमपात र लकडाउनका कारण पुर्वाधार निर्माणमा ढिलाइ भएको थियो । जेठ पहिलो हप्ताभित्र सुरक्षा पोष्टका लागि पुर्वाधार निर्माणको टेण्डर गरिने सशस्त्र प्रहरी नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका डिएसपी डम्बरबहादुर बिष्टले बताउनुभयो । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुदै चीनसंग जोड्ने गरी ९५ किलोमिटर सडक निर्माण गरेपछि तिकंरसम्म सडक र सीममा बाह्रै महिना राज्यको सुरक्षा उपस्थिति गराउनुपर्ने स्थानीयको माग छ ।
अहिले सशस्त्र प्रहरी बसेको छाङरु गाउँभन्दा कालापानी १३ किलोमिटर र लिपुलेक १७ किलोमिटर टाढा पर्ने भएकोले सीमा क्षेत्रमा निगरानी बढाउन कालापानी वा कौँवा क्षेत्रमा नेपाली सेना राख्न स्थानीयले अनुरोध गरेका छन् । कालापानी समुद्री सतहबाट ४ हजार २ सय मिटर र त्यो भन्दा माथि लिपुलेक, लिम्पीयाधुरा ५ हजार मिटरको उचाइमा पर्ने भएकोले ३ हजार ६ सय मिटर उचाइमा रहेको छाङरुमा सुरक्षा पोष्ट राखेर राज्यको उपस्थिति देखिएपनि सीमा सुरक्षा गर्न कठिन हुने स्थानीय बताउछन् । सशस्त्र प्रहरी छाङरुमा बसेपनि कौवासम्म नियमित एलआरपी गस्ती गर्न सकिने बीओपीको स्थलगत निरीक्षण गर्नुभएका डिएसपी बिष्टले बताउनुभयो ।
यसअघि गत फागुन पहिलो साता नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोलीले सशस्त्र प्रहरीको बीओपी स्थलको हवाई निरीक्षण गरेको थियो । चैत महिनामा सशस्त्र प्रहरी दार्चुलाका डिएसपी डम्बरबहादुर बिष्ट नेतृत्वको टोलीले स्थलगत निरीक्षण गर्नुभएको थियो ।
सशस्त्रसंगै नेपाल प्रहरी पनि छाङरु प्रस्थान
सशस्त्रसंगै सेनाको हेलिकोप्टरमा नेपाल प्रहरी पनि छाङरु गएको छ । सई हर्कसिह महताको नेतृत्वमा ९ जनाको प्रहरी टोली पनि छाङरु गएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो । नेपाल प्रहरी विगतमा पनि वर्षको छ महिना छाङरुमा बस्दै आएको थियो । हिउँदमा चिसो बढेपछि प्रहरी दुम्लीङ झरेसंगै बाँकी छ महिना सीमा क्षेत्र सुरक्षाकर्मीबिहिन रहने गरेको थियो ।
गत वर्ष हिउँ पग्लीएपछि वैशाख पहिलो साता छाङरु–तिकंर जाने भएपनि लकडाउन र सीमा बन्दका कारण यो वर्ष स्थानीय र प्रहरीले छाङरु जान पाएका थिएनन् । नेपालतर्फ बाटो नहुदा तिकंर चौकीका प्रहरी र स्थानीय अहिलेसम्म फर्किन सकेका छैनन् । छाङरु र तिकंर गाउँका सौँका समुदायले प्रहरीसंगै आफुहरुलाइ पनि हेलिकोप्टरमार्फत गाउँ पुर्याउन माग गरेपनि सुनुवाई नभएको गुनासो गरेका छन् । छाङरुमा मात्रै १ सय १० व्याँसी परिवारको बसोबास रहेको छ ।
नेपालतर्फ बाटो नहुदा भारतीय प्रशासनको अनुमति लिएर विगत वर्षहरुमा गाउँ जानेगरेपनि यो वर्ष सीमा नखुल्दा खलंगामै रोकिनुपरेको व्याँसबासीको गुनासो छ । गाउँ फर्किन नपाउदा पशुचौपाया पाल्न समस्या भएको र खेतीपाती गर्ने समयमा खेत बाझैँ रहेको व्याँस गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिह बोहराले बताउनुभयो ।
गोरेटो बाटो निमार्ण हुने
व्याँसबासीलाई गाउँ जान समस्या भएपछि सरकारले नेपालतर्फ गोरेटो बाटो निर्माण गर्ने निर्णय गरेको छ । प्राविधिक टोलीले गरेको सर्भेका आधारमा दुम्लीङदेखि छाङरुसम्म बाटो निर्माण गर्न २३ करोडको डिपिआर तयार भइ स्वीकृतिको तयारीमा रहेको प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले बताउनुभयो । पञ्चायत कालमा बनेको बाटो दुई दशकअघि भत्केपछि व्याँसबासीले गाउँ जान स्वदेशको बाटो प्रयोग गर्न पाएका छैनन् ।
२०६५ सालदेखि निर्माणाधिन खलंगाबाट तिकंर जोड्ने रणनीतिक महत्तको सडकमा हालसम्म ४० किलोमिटर ट्रर्याक मात्रै खुलाइएको छ । १३४ किलोमिटर लामो दार्चुला–तिकंर सडकलाई प्रार्थमिकताका साथ निमार्ण गर्न घाटिबगर भन्दा माथिको ८७ किलोमिटर सडक सेनामार्फत निर्माण गर्ने र बाकी सडक बिभागले निर्माण गर्ने सरकारले निर्णय गरेपनि कार्यान्वय हुन बाकी रहेको छ । सरकारले प्रार्थमिकताका साथ सीमासम्म सडक र सुरक्षा पहुच पुर्याउनुर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?