काठमाडौं । बुधबार बसेको सर्वदलीय बैठकमा नेताहरुले कुटनीतिक वार्ताको माध्यमबाट नै भारतसँग सीमा विवाद समाधान गर्न सकिने सुझाव प्रधानमन्त्रीलाई दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा भारसँगको सीमा समस्या समाधान गर्न कुटनीतिक वार्ता नै उपयुक्त हुने नेताहरुले सुझाव दिएका हुन् ।
समस्या समाधानका लागि सरकारले चालेका हरेक कदममा साथ दिने बचन दिँदै नेताहरुले सरकारलाई आफ्नो अडान कायम राख्न भनेका छन् । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्व प्रधानमन्त्रीहरुले सरकारले प्रभावकारी कदम चाले हरेक प्रयासमा साथ रहने विश्वास दिलाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
जनतालाई साथ लिएर अगाडि बढ्न पनि नेताहरुले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुको सुझाव अनुसार कुटनीतिक वार्ता एकमात्रै समस्या समाधानको विकल्प भएको र सरकार अबिलम्ब वार्ता गर्ने पक्षमा रहेको बताए ।
पुर्खाहरुले लडेर बनाएको बचाएको मुलुकलाई अडेर बचाउनुपर्ने प्रधानमन्त्री ओलीले बताएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । प्रधानमन्त्रीको भनाई उदृत गर्दै उले भने, ‘‘पुर्खाहरुले लडेर बनाएको र पुर्खाहरुले लडेर बचाएको नेपाललाई अहिले हामीले अडेर बचाउनुपर्छ । हामीले थप लड्नु जरुरी छैन् तर विगतमा भएका उपलब्धिहरुमा दृढतापूर्वक रहनुपर्छ । र सरकार सबै राजनीतिक दल र जनताहरुको साथ लिएर अगाडि बढ्ने छ । भारतसँग असल मित्रता चाहान्छौँ तर त्यसका लागि नेपालको आफ्नो भूमिको रक्षा र आफ्नो राष्ट्रिहितको रक्षा सर्वोपरि हुन्छ प्राथमिकता हुनेछ ।’’
वार्ताका लागि भारतले कोरोनालाई कारण बनाएपनि कोरोनाकै कारण वार्ता नरोकिने बताउनुभएको छ । उनले भने, ‘‘सीमामा समस्या छ भनेर उसै ९भारत० ले भन्ने । सडक उद्घाटन गर्न कोरोनाले नरोक्ने तर वार्ता गर्न कोरोनाले रोक्ने कुरा राम्रो भएन् । भारतले प्रशासनिक अधिनमा राखेको ठाउँमा बाटो बनाएको कुरा विभिन्न माध्यमबाट थाहा भयो । थाहा हुने वित्तिकै प्रतिवाद पनि गरियो । नटुंगिएको आफै भन्ने अनि आफैले काम नगर्नुपर्ने थियो तर भयो । अब वार्ताका लागि भारत जुन तहमा तयार हुन्छ । हामी त्यसैअनुसार वार्ता गर्न तयार छौँ । हामी छिटो भन्दा छिटो वार्ता गर्न चाहान्छौँ ।’’
बैठकपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाकाली नदि नै सीमा नदि भएको र सीमा समस्या समाधानका लागि भारतसँग मात्रै नभएर चीनसँगपनि कुटनीतिक वार्ता गर्नुपर्ने सुझाव आफुले दिएको बताए ।
यसैगरी एमसीसी पास गर्ने विषयमा पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको उनले बताए ।
विदेशमा रहेका स्वदेश फर्किन चाहाने नागरिकलाई सुरक्षित रुपमा स्वदेश ल्याउन पनि सरकारलाई आग्रह गरेको उनले बताए । उनले भने, ‘‘काली नदि नै सीमा नदि हो । कालापानी हाम्रो हो भनेर पहिले देखिनै हामीले भनेकै हौँ । भारतीय प्रधानमन्त्री चीन जाँदा लिपुलेक नै नाका मानेको हुनाले दुबै देशलाई नेपालको भूमि हो भन्ने र कुटनीतिक प्रयास गर्ने हो । बैठकमा एमसीसी पास गर्नुपर्ने कुरा उठाए । नेपालको हितमा छ । सबैभन्दा बढी आर्थिक सहायता प्राप्त भएको परियोजना हो भनेर प्रधानमन्त्रीलाई भनेको छु ।’’
बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले सीमा समस्या समाधानका लागि सरकारले नेपाली जनतार्लाइ विश्वसमा लिएर अगाडी बढ्नुपर्ने बताए ।
राष्ट्रियताको पक्षमा सबै नेपाली जनता र सबै पार्टीले साथ दिने भएकाले जनतालाइ साथमा लिएर जानुपर्ने सुझाव आफुले लिएको उनले बताए ।
रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।