दार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक नजिक सशस्त्र प्रहरीले नियमित सीमा गस्ती गर्न थालेको छ । सरकारले बुधबार सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेदेखि सीमा क्षेत्रमा गस्ती थालिएको सशस्त्र प्रहरी नम्बर ५० गुल्म दार्चुलाका डिएसपी डम्बरबहादुर बिष्टले बताउनुभयो ।
गस्ती टोलीले अतिक्रमित भूमिको बस्तुस्थितिबारे जानकारी लिनुका साथै सीमा निगरानी गरिरहेको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दैनिक हातहतियार सहित गस्ती थालेपछि सुरक्षा महसुस भएको स्थानीय सुदा बोहराले बताउनुभयो । भारतले कालापानी क्षेत्रमा ३ सय ७२ वर्ग किलोमिटर भूमि अतिक्रमण गरेर ५८ वर्षदेखि सुरक्षा फौज तैनाथ गरेको छ ।
विगतमा सीमा क्षेत्र सुरक्षाविहीन हुँदा भारतीय सुरक्षाकर्मी हातहतियारसहित नेपाली भूमिमा गस्ती गर्दै आएकोमा सशस्त्र प्रहरीको उपस्थितिले देशमा सरकार भएको अनुभव गर्न पाएको स्थानीय जितसिह बोहराले बताउनुभयो । अहिले छाङरुमा २५ जना सशस्त्र प्रहरी, सितापुलमा ९ जना र तिकंरमा ९ जना गरी १८ जना नेपाल प्रहरी खटिएका छन् ।
याे पनि पढ्नुहाेस
कालापानी नजिकै छाङरुमा १६० जनाको फौज राख्ने तयारी, भवनको नक्सांकन थालियो
कालापानीमा भारतद्धारा ३७२ वर्गकिमि भूमि अतिक्रमण, ५८ वर्षदेखि फौज
सीमामा सशस्त्र खटिएपछि स्थानीय हर्षित
सरकारले अतिक्रमित नेपाली भूमि कालापानी नजिकै छाङरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेपछि स्थानीयबासी हर्षित भएका छन् । मंसिरदेखि वैशाखसम्म ६ महिना मानवविहीन हुने व्याँस गाउँपालिका–१ छाङरु र तिकंर बस्तीमा बाह्रै महिना प्रहरी बस्ने गरी बीओपी स्थापना भएपछि देशमा सुरक्षा र सरकार भएको अनुभूति गर्न पाएको स्थानीयले बताएका छन् ।
‘सरकारले ढिलै भएपनि सीमामा सुरक्षाकर्मी पठाउदा खुसी लागेको छ , सीमा अतिक्रमण रोक्न छाङरुमा बसेको सशस्त्र प्रहरीले अब कालापानी सम्म नियमित गस्ती गर्नुपर्छ’ स्थानीय जितसिह बोहराले भन्नुभयो, ‘राज्यले हिमपातको समयममा प्रहरी सीमामै बस्न सक्नेगरी तत्काल प्रयाप्त पुर्वाधार, जनशक्ति र बन्दोबस्तीको व्यवस्थापन गर्नु आवश्यक छ । साथै उच्चस्तरीय कुटनीतिक छलफलमार्फत अतिक्रमित भूमि फिर्ता गरेर कालापानीमा नेपाली सेना राख्नुपर्ने उहाँको भनाइ छ ।’
सीमामा राज्यको उपस्थिति गराउनु ऐतिहासिक काम भएपनि राज्यले सीमावासीको पीडा बुझ्नुपर्ने स्थानीय नगेन्द्र तिकंरीको भनाइ छ । गाउँसम्म जाने बाटो नभएर खलंगामै बसेका व्याँसवासीलाई हेलिकोप्टरमार्फत भएपनि तत्काल गाउँ पठाउनुपर्ने र तिंकर जोड्ने गोरेठो बाटो र सडक प्रार्थमिकताका साथ निर्माण गर्नुपर्ने उहाँको माग छ । कालापानी नजिकैको कौवा क्षेत्रबाट चोरी सिकारी, काठ तस्करी र अखेटोपहार ओसारपसार हुने गरेकाले कालापानी वा कौवा क्षेत्रमा नेपाली सेना खटाउनुपर्ने माग स्थानीयले राखेका छन् ।
सीमा क्षेत्रमा राज्यको उपस्थिति र जनताको सुरक्षा अनुभूति हुने गरी भएको ऐतिहासिक दुरगामी कामले सरकार, जनता र प्रशासकलाई समेत खुशी अनुभूति भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।
हेलिकोप्टरमार्फत सुरक्षाकर्मी छाङरु गएपछि पैदल बाटो नहुदा स्थानीयले गाउँ जान पाएका छैनन् । ६ महिना व्याँस र ६ महिना खलंगा बस्दै आएका सौँका समुदाय गत वर्षसम्म भारतीय प्रशासनको अनुमति लिएर वैशाख पहिलो साता भारतबाटै गाउँ जाने गरेका थिए । यो वर्ष कुञ्चा सर्ने समयमा लकडाउन र सीमा बन्द भएपछि गाउँ जान समस्या भएको छ ।
जेठसम्म सदरमुकामै बस्दा गाउँमा खेतीबाली लगाउने समय घर्कीएर खेत बाझैँ राख्नुपर्ने अवस्था आएको, हिउँदे बाली खेतमै कुहिएको र सदरमुकाममा पशुचौपाया पाल्न समेत समस्या भएको व्याँसबासीको गुनासो छ । बुधबार प्रहरी पुर्याउन आएको हेलिकोप्टरमार्फत आफूहरुलाई समेत गाउँ फर्काउन माग गरेपनि सुनुवाई नभएको उनीहरुको गुनासो छ ।
पञ्चायतकालमा निर्माण भएको स्वदेशतर्फको बाटो दुई दशक पहिले भत्कीएपनि उचित मर्मतसम्भार भएको छैन । व्याँस जाने बाटो बनाउने नाममा अगुवाहरुले वर्षेनी लाखौँ रुपैँया भ्रष्टाचार गरेर पेट भर्ने काम गरेको स्थानीयको आरोप छ । अहिले नेपालतिरको दुम्लीङदेखि तिकंरसम्मको बाटो अवरुद्ध रहेको छ । गाउँ जाने बाटो नहुदा व्याँस गाउँपालिका–१ छाङरुका ११० र तिकंरका ६५ परिवार खलंगामै बसेका छन् ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।