दार्चुला । यो वर्ष मनसुन सुरु भएदेखि हालसम्मको अवधिमा १ सय १८ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण २८ जिल्लामा ११८ जनाले ज्यान गुमाएका हुन् ।

विभिन्न जिल्लामा भएका घटनामा १०३ जना भन्दा बढी घाइते छन् भने ४५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी राखिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले बताउनुभयाे ।

प्रहरीका अनुसार हालसम्म मनसुनजन्य विपदबाट सबैभन्दा बढी म्याग्दीमा २८ जनाको मृत्यु भएको छ भने जाजरकोटमा १२, तनहुँमा ११, कास्कीमा १०, बझाङमा ७, दार्चुलामा ४ जनाको मृत्यु भएको छ ।  नेपालमा मनसुन ३० असारबाट भित्रिएको थियो ।

नौगाडमा दुईको मृत्यु, डुङरी पावर हावसमा क्षती

दार्चुलाको महाकाली नगरपालिका—३ मा रहेको डुङरी जलविद्युत आयोजनाको पावरहावसमा क्षती पुगेको छ । आईतबार राती परेको अविरल बर्षाका कारण लास्कुगाडमा आएको बाढीले डुङरी जलविद्युत आयोजनाको पावरहावसमा क्षती पुगेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका प्रमुख दयाराम शाहले जानकारी दिनुभयो ।

लास्कुगाड पावरहावस तर्फ आएर विद्युत गृह भित्र पानी भरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार, विद्युत गृह भित्र झण्डै ३ फिट पानी भरिएको छ, भित्र जान सकिने अवस्था छैन, डोजर लगाएर पानीको धार परिवर्तन गर्ने काम भइरहेको छ । विद्युत गृह भित्र जान सके कुन–कुन उपकरणमा क्षती पुग्यो भन्ने थाहा हुने शाहले बताउनुभयो ।

विद्युतगृहमा क्षती पुग्दा विद्युत सेवा अवरुद्ध भएको छ । व्याँस गाउँपालिकाको हुती, महाकाली नगरपालिकाको छापरी र मुल्ला क्षेत्रमा पूर्ण रुपमा विद्युत अवरुद्ध भएको हो । खलंगाको बंगाबगड क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान गरेर विद्युत सुचारु गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ । धौलिगाड बाढीले डुङरी क्षेत्रमा पार्कीङ गरेर राखीएको जिपसमेत आधा पुरिएको प्रहरीले जनाएको छ ।

नौगाडको परिगाउँमा पहिरोले दुई जनाको मृत्यु

दार्चुलाको नौगाड गाउँपालिका—६ परिगाउँमा पहिरो जादा दुई जनाको मृत्यु भएको छ । आइतबार रातीको अबिरल वर्षाका कारण पहिरो आएर मानसिंह ठगुन्नाकी पाँच वर्षीया छोरी आरती ठगुन्ना र हरजित ठगुन्नाकी ३२ वर्षीया श्रीमती मानमती ठगुन्नाको मृत्यु भएको स्थानीय प्रकाशसिंह धामीले बताउनुभयो ।

पहिरोले घर नै पुरिएर बेपत्ता भएका दुबै जनाको सव सोमबार दिउँसो फेला परेको छ । पहिरोमा परी स्थानीय पाँच जना घाइत भएका थिए । घाइतेलाई स्थानीय र सुरक्षाकर्मीको टोलीले उद्धार गरी गोकुलेश्वर अस्पताल पठाइएको धामीले बताउनुभयो ।

पहिरोले स्थानीय शालिभान धामी, हरजित धामी, देबसिह धामी, साइमल धामी, दुर्गा खत्री र किसन धामीको घर पुर्ण रुपमा विस्थापित भएर छ परिवार घरबारविहिन भएका छन् । कम्तीमा एक सय ५० बाख्रासहित दुई सय पशुचौपायाको मृत्यु भएको स्थानीय प्रकाश धामीले जानकारी दिनुभयो । समौजी आधारभुत विद्यालयको १४ कोठे विद्यालय भवन, दुई वटा पुल र पाँच वटा पानी घट्ट लगायतका भौतिक संरचना पुर्ण रुपमा नष्ट भएका छन् ।

आधादर्जन परिवारको घर र खेतबारी बगाउनुका साथै एक दर्जन बढी परिवारको घर पहिरोको उच्च जोखीममा रहेको स्थानीय शन्तोषसिंह ठगुन्नाले बताउनुभयो । परिगाउँमा मात्रै नभइ नौगाड गाउँपालिकाको वडा नम्बर १, २ र ३ लगायत विभिन्न बस्तीमा बाढी, पहिरोले ठूलो क्षती गरेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनुभयो । दार्चुलाको नौगाड गाउँपालिकामा वर्षेनी बाढी र पहिरोका कारण धनजनको क्षती हुनुका साथै प्राकृतिक विपद् निम्तिने गरेको छ ।

धाैलिगाड खाेला बाढीले सडक बगायाे

यसैबिच दार्चुला सदरमुकाम खलंगा जनिकैको महाकाली नगरपालिका—५ धौलिगाड खोलामा आएको बाढीले महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

पाँच वर्षदेखि मुआब्जा विवादका कारण पुल निर्माण कार्य रोकिएको उक्त खोलामा आएको बाढी र पहिरोले दार्चुला सदरमुकाम खलंगासंगको सम्पर्क टुटाएको छ । वर्षा रोकिएर खोलामा पानीको सतह घटेपछि उक्त स्थानमा सडक मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ ।

पहिराेले गल्फै वस्ती र नमस्कार बस्तीमा जाेखिम बढेकाे छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?