दार्चुला । दार्चुलाको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार गरेकोमा नेपालले भारतलाई जवाफी पत्र पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएकोले नेपालीलाई दुःख नदिन भनेको छ ।

गृह मन्त्रालयको निर्देशनपछि मंगलबार धार्चुलाका जिल्ला अधिकारीलाई जवाफी पत्र पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।

‘भारतले पत्रमार्फत दाबी गरेको भूमि नेपालको भएकाले नेपालीलाई बाधा, अड्चन नगर्न भन्दै पत्र पठाइएको हो’ उहाँले भन्नुभयो । पत्रमा सुगौली सन्धी तथा त्यस समयमा प्रकाशित नक्साहरू र ऐतिहासिक तथ्य–प्रमाणबाट लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालको भूभाग रहेको भन्ने प्रष्ट भएकाले यी नेपाली भूभागहरूमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको हुँदा बाधा–अड्चन नगर्न भनिएको छ ।

यसअघि गएको असार ३० गते भारतको धार्चुला प्रशासनले कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रमा नेपालीहरु अवैध रुपमा चोरी–छिपी रहेको भन्दै ती क्षेत्रमा नेपालीको प्रवेश रोक्न पत्र पठाएको थियो ।

पत्रमा भनिएको थियो, ‘भारतीय क्षेत्र गुन्जी, लिपुलेक र लिम्पियाधुरामा नेपाली गुट र समूह अवैध रूपमा चोरी–छिपी सीमा पार गर्ने कोशिस गरिरहेको हामीलाई विशिष्ट सूत्रबाट जानकारी मिलेको छ ।मिडियाको ध्यानाकृष्ट गर्न र दुवै देशलाई समस्यामा पार्न यस्तो प्रयास भइरहेको छ ।

त्यसैले तपाईंको स्तरमा त्यस्तो कुनै पनि जानकारी प्राप्त भएमा तुरुन्त हामीलाई खबर गर्नुहुन अनुरोध छ ।’भारतको यो पत्रको जवाफमा दार्चुला प्रशासनले लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालकै भएको स्मरण गराएको हो ।

याे पनि पढ्नुहाेस

भारतले दार्चुला प्रशासनलाई भन्यो–कालापानी–लिम्पियाधुरामा नेपालीलाई जान नदेऊ (पत्रसहित)

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?