दार्चुला । दार्चुला सदरमुकाम खलंगामा सशस्त्र प्रहरीको गण स्थापना भएको छ । दार्चुला जिल्लाभरीको कार्यक्षेत्र हेर्ने गरी खलंगामा ४४ नम्बर गण स्थापना गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको प्रमुखको कार्यभार सम्हाल्न सशस्त्र प्रहरी उपरिक्षक (एसपी) नरेन्द्र बमं दार्चुला आइपुग्नु भएको छ । कार्यभार सम्हाल्न गणपति बम हिजो (आइतबार) बेलुकी दार्चुला आइपुगेको सशस्त्र प्रहरी दार्चुलाले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालीम शिक्षालय ककनी नुवाकोटमा कार्यरत बमलाई यसअघि नै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलामा समायोजन गर्ने निर्णय भएको थियो ।
गणपतिकाे जिम्मेवारीसहित दार्चुला आएका बमलाइ सशस्त्र प्रहरी दार्चुलाले स्वागत गर्दै कार्यकाल सफलताकाे शुभकामना र बधाइ समेत ज्ञापन गरेकाे डिएसपी डम्बरबहादुर बिष्टले बताउनुभयाे ।
खलंगामा गण स्थापना भएपछि हाल खलंगामा रहेको ५० नम्बर गुल्मलाई छाङरुमा सारिनेछ । गणको नेतृत्व सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र गुल्मको नेतृत्व सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी)ले गर्नेछन् । गण र गुल्मको मातहतमा सीमाक्षेत्रमा बीओपीहरु सञ्चालन हुनेछन् ।
हाल व्याँस गाउँपालिका को वडा नम्बर १ छाङरु, वडा नम्बर २ दुम्लिङ, मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जोलजिवी र लेकम गाउँपालिकाको वडा नम्बर ३ लालीमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको छ । व्याँसको छियालेक र मालिकार्जुनको जोलजिवीमा बीओपीको भवन निर्माणका लागि टेण्डर खोलिएको छ ।
सशस्त्र प्रहरीले महाकाली नगरपालिकाको वडा नम्बर ९ दत्तु र व्यास गाउँपालिकाको केन्द्र सुन्सेरामा पनि बीओपी स्थापनाका लागि सिफरिस गरिएको छ । व्याँसको छाङरुमा गुल्म स्थापना भएपछि चीनिया सीमा क्षेत्रको तिंकर र कालापानी नजिकको कौवाक्षेत्रमा बीओपी थप्ने सरकारको तयारी रहेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।
खलंगामा गण र छाङरुमा गुल्मको स्थापनापछि सिमा सुरक्षाका साथै आन्तरिक सुरक्षा व्यवस्थापनमा थप सहजता आउने विस्वास गरिएको छ । सशस्त्र प्रहरीको गणमा ६ सय २१ जना र गुल्ममा १ सय ६० जनशक्ति रहने व्यवस्था छ । गणमा एसपीको कमाण्डमा ५ डिएसपी, १४ जना इन्सपेक्टरको दरबन्दी रहन्छ ।
सशस्त्र प्रहरीको नयाँ संरचनाअनुसार देशभरी ४४ गण र २७ गुल्म रहनेछन् । ८ बाहिनी र १२ शिक्षालय (तालिम केन्द्र) को संरचना स्वीकृत भएको छ । हालसम्म शसस्त्र प्रहरीका ५ वटा मात्रै तालिम केन्द्र थिए । नयाँ संरचनाअनुसार ७ तालिम केन्द्र थपिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा दुइ गण थपिएका छन् । कैलालीको वनभेडा र दार्चुलाको खलंगामा गणको संरचना स्वीकृत भएको हो । कैलालीको अत्तरियामा बाहिनी छ भने धनगढी, कञ्चनपुरको झलारी र डोटीमा गण रहेको छ । सुदूरपश्चिममा गणको संख्या ५ र गुल्मको संख्या ७ रहनेछ ।
बाजुरा र बझाङ जिल्लामा आश्रित गुल्म रहनेछ ।
प्रत्येक जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति हुने गरी नयाँ संरचना स्वीकृत भएको छ ।