दार्चुला : ६५ प्रतिशत जनता विद्युतबाट बञ्चित, महसुलबाट दुई करोड ६५ लाख राजस्व संकलन

दार्चुला। दार्चुलामा २५ हजार पाँच सय घरधुरी मध्ये १६ हजार दुई सय घरधुरी अर्थात झण्डै ६५ प्रतिशत जनता अझैपनि विद्युतबाट बञ्चित रहेका छन् । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाको तथ्याङ्क अनुसार अहिलेसम्म दार्चुलाको नौँ हजार तीन सय घरधुरी अर्थात ३५ प्रतिशत जनताले मात्रै विद्युत सेवा प्राप्त गरेका छन् ।

दार्चुलामा ३० मेगावाटको चमेलिया जलविद्युत, नौगाड साढे ८ मेगावाट आयोजनासहित सहायक जलविद्युतहरु र दर्जनौ ग्रामिण लघुजलविद्युत उत्पादन भएपनि विद्युत सुविधा नपाउनु दार्चुलाबासीका लागि दुभाग्यको विषय रहेको शैल्यशिखर नगरपालिका–१ बलाँचका स्थानीय सुरेन्द्रबहादुर तितराले गुनासो गर्नुभयो । समयमै ग्रामिण विद्युतिकरण, सवस्टेशन निर्माण र लाइन विस्तारको कार्य सम्पन्न नहुदा दार्चुलाबासीले अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको विद्युत वितरण केन्द्र दार्चुलाका प्रमुख दयाराम शाहले जानकारी दिनुभयो ।

ग्रामिण विद्युतिकरणका लागि २०७०÷०७१ सालदेखी ठेक्का सम्झौता भएका केहि स्थानमा हालसम्म समेत काम पुरा हुन सकेको छैन् । ग्रामिण विद्युतिकरणका लागि बर्षेनि करोडौ बजेटका दर्जनौ ठेक्का भएपनि समयमै विद्युत प्राधिकरणले उपकरण उपलब्ध गराउन नसक्ने, सडक पहुचको अभावमा ढुवानी गर्न समस्या हुने र ठेकेदार तथा सरोकारवालाहरुको लापरवाही र ढिलासुस्तीले विद्युतिकरणमा प्रगति हुन नसकेको शाहले बताउनुभयो । गत बर्षदेखि धमाधम विद्युत विस्तारको काम भइरहेकोले अबको दुई बर्षभित्र जिल्लाभरी विद्युत विस्तार भइसक्ने उहाँको भनाई छ ।

दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच गाउँपालिका सदरमुकामसम्म अझै विद्युत विस्तार भएको छैन् । अपि हिमाल, नौगाड, लेकम, व्याँस र दुहुँ गाउँपालिका सदरमुकामसम्म विद्युत नपुग्दा कार्यालयको कामकाज प्रभावित हुँदै आएको छ । महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन र मार्मा गाउँपालिका सदरमुकामसम्म भने विद्युत विस्तार भएको छ । विद्युत नपुगेका स्थानीय तहमा सौर्य उर्जाको भरमा कार्यालयको कामकाज सञ्चालन हुदैआएको छ ।

विद्युत नपुगेको अधिकासं ठाउँका नागरिकले सोलारको सहयताले काम गरिरहेका छन् भने केहि बिपन्न परिवारले सोलार समेत किन्न नसकेर अन्धकारमा बस्नुपरेको लेकम गाउँपालिका–५ का दिपक परियारले बताउनुभयो । अहिलेसम्म जिल्लाको अपि हिमाल गाउँपालिका र नौगाड गाउँपालिकामा विद्युतको राष्ट्यि प्रशारण लाइनले छोएको छैन् ।

लेकम गाउँपालिकाको वडा नम्बर तीनमा मात्रै भारतीय बजारबाट विद्युत आयात गरिएको छ । दुँहु र व्याँस गाउँपालिकाको केहि वडाहरुमा विद्युत पुगेको छ । महाकाली र शैल्यशिखर नगरपालिका र मालिकार्नुन र मार्मा गाउँपालिकाको अधिकासं घरधुरीमा विद्युत विस्तार भइसकेको विद्युत वितरण केन्द्र दार्चुलाले जनाएको छ ।

विद्युत महसुलबाट दुई करोड ६५ लाख राजस्व संकलन

नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले गत आर्थिक वर्ष २०७६÷०७७ मा विद्युत महसुलबाट दुई करोड ६४ लाख ६५ हजार १७९ रुपैँया राजस्व संकलन गरेको छ । विद्युत प्राधिकरणले एक वर्षको अवधिमा कुल दुई करोड ६४ लाख ६५ हजार १७१ युनिट विद्युत बिक्रिवाफत उक्त राजस्व संकलन गरेको विद्युत वितरण केन्द्र दार्चुलाका सूचना अधिकारी केशवदत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार घरायसी ग्राहकतर्फ मात्रै एक करोड ६२ लाख चार हजार ५७ रुपैँया राजस्व संकलन भएको छ ।

विद्युत महसुल उपभोक्ताले प्रयोग गरेको भन्दा बढी उठाउने गरेको गुनासो समेत बढ्दै गएको छ । दार्चुला सदरमुकाम खलंगादेखि ग्रामिण क्षेत्रका उपभोक्ताहरुले प्रयोगको आधारमा भन्दापनि अनुमानका आधारमा महसुल उठाउने गरिएको आरोप लगाउने गरेका छन् । प्रयोग गरेको भन्दा बढी महसुल उठाउदा गरिब जनता समस्यामा परिरहेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का स्थानीय शिक्षक सुरेन्द्रबहादुर तितराले गुनासो गर्नुभयो ।

अनियमित विद्युतले ग्राहक हैरान

दार्चुला सदरमुकाम खलंगा सहित जिल्लाभरीको विद्युत सेवा अनियमित हुदा सेवाग्राही समस्यामा परेका छन् । चमेलियाबाट ल्याइएको ११ केभी प्रसारण लाइनबाट नियमित विद्युत आपुर्ती नहुदा सेवाग्राहीले समस्या भोग्नुपरेको दार्चुला सदरमुकाम खलंगाका स्थानीय भक्तराज निरौलाले गुनासो गर्नुभयो । गर्मीको समयमा दुई दिनदेखि बिजुली नआउँदा सेवाग्राही समस्यामा परेका छन् ।

बिजुली नहुदा अस्पताल भर्ना भएका बिरामीहरुलाइ झनै समस्या हुने गरेको छ । उज्यालो बाल्न, मोबाइल चार्ज गर्न, खाना पकाउन, विद्युतबाट चल्ने मेसिनहरु चलाउँन नपाइएको ग्राहकहरुको गुनासो छ । विद्युत अभावमा सञ्चारमाध्यम र विद्युतिय पशलहरुको सेवा अवरुद्ध भएको छ । विद्युत आउने जाने कुनै समयतालिका समेत नभएकोले व्यापार, व्यवसायि र आम नागरिक हैरानी खेप्न बाध्य भएको भावना स्टेशनरी तथा फ्लाक्स प्रिन्ट व्यवसाय सञ्चालक राजेन्द्र बडूले बताउनुभयो ।

धराप बन्दै विद्युत लाइन

दार्चुला सदरमुकाम खलंगामा विद्युत लाइन ब्यवस्थित नहुदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । विद्युतको मेन हाइटेन्सन लाइन अर्थात ११ केभी विद्युत लाइन भित्ता र छतमा पर्नेगरी नयाँ घरहरु निर्माण भएपछि दुर्घटनाको खतरा धेरै छ ।

महाकाली नगरपालिका ४ बंगाबगडका स्थानीय सुरज बिष्टले भन्नुभयो, “केहि बर्ष यता दार्चुला सदरमुकाम खलंगा र बंगाबगड बजारका पाचँ जना बढी मानिसले करेन्ट लागेर अकालमै ज्यान गुमाइ सकेका छन । केहि मानिस घाइते भएका छन । तर विद्युत लाइन ब्यवस्थित गरिएको छैन् ।” घरका छतहरुबाट हातले छुन सकिने दुरीमा विजुलीका नाङ्गा तारहरु छन् । केहि ठाउँमा काठका पुराना पोलहरु नफेरीकाले असुरक्षा छ । जुनसुकै बेला दुर्घटना हुनसक्ने ठाउँमा समेत लाइन ब्यवस्थित नगरिएको स्थानीयको गुनासो छ ।

विद्युतका तारहरुकै तलपट्टि स्थानीयले धमाधम अवैधानिक तरिकाले नयाँ घरहरु बनाउदा दुर्घटनाको खतरा बढेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ । विद्युत वितरण केन्द्र दार्चुलाका प्रमुख दयाराम शाहले भन्नुभयो, विद्युत लाइन विस्तार गर्ने बेला घरका छतहरुमा पर्ने गरी निर्माण गरिएको हैन । तर स्थानीयले मापदण्ड विपरित नयाँ घर निर्माण गरिदिदा समस्या भएको हो । उहाँले भन्नुभयो, नयाँ घरहरु निर्माण गर्दा नियमको पालना र सम्भावित दुर्घटनाको ख्याल गर्नु जरुरी छ ।

बनिसकेका घरहरुमाथि मेन लाइन तान्न नमिल्ने र लाइन बिचमा पर्ने गरेर नयाँ घरपनि बनाउँन नहुने नियम भएपनि स्थानीयले पालना नगरेको उहाँको भनाई छ । विजुलीका तार र पुराना पोल व्यवस्थापन गर्न सरकारी निकायले कुनै चासो नदिँदा सर्वसाधारणका लागि विजुलीका तारहरु धराप बनेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?