दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा वडाकै कर्मचारीले मृतकको नाममा सामाजिक सुरक्षा भत्ता बुझेको पाइएको छ । लेकम गाउँपालिका–५ मैखोली गैरका स्वर्गिय कमलापती जोशी र विर्मादेबी जोशीका छोरा हरिदत्त जोशीको नाममा मृत्यु दर्ता भइसकेपछि एक बर्षको भत्ता बुझेको पाइएको हो ।
२०७६ साल असार २३ गते मृत्यु भएका जोशीको २०७६ साउन महिनादेखि भत्ता शुरु भएको छ । २०७६ सालदेखी सामाजिक सुरक्षा भत्ता पाउनका लागि २०७५ साल मंसिर महिनामा निवेदन दिएका जोशीको असारमै मृत्यु भएपनि साउन देखि शुरु भएको एक बर्षको भत्ता बुझेको पाइएको हो ।
मृतकका आफन्तले २०७६ साल साउन १४ गते मृत्यु दर्ता गरिसकेको भएपनि मृत्यु दर्ता भइसकेपश्चात दुई किस्ता समाजिक सुरक्षा भत्ता वडा नम्बर ५ को वडा कार्यालयबाट हिनामिना भएको बताउदै आएका थिए । यसअघि वडा कार्यालयका कर्मचारीहरुले भत्ता मृतकका आफन्तले बुझेको झुटो आरोप लगाउदै आएकोमा आइतबार वडा कार्यालयमा सरोकारवालाहरुबिच भएको छलफलमा वडा कार्यालयमै कार्यरत प्राविधिक हरसिह बोहराले भत्ता आफुले बुझेको स्वीकार गर्नुभएको छ ।
आइतबार वडा कार्यालयमा भएको छलफलका क्रममा बृद्धभत्ता वितरणको जिम्मेवारी समेत पाएका प्राविधिक बोहराले बुद्धभत्ता आफुले बुझेको स्वीकार गर्दै आफि माग्नुभयो । सामाजिक सुरक्षा भत्ता हिनामिना भएको विषयमा आ–आफ्नो ठाउँमा सिगों वडा कार्यालयको दोश रहेको भन्दै वडाअध्यक्ष दिपेन्द्रसिह बोहरा, वडा कार्यालयका सचिब लक्ष्मणराज बिष्ट र बृद्धभत्ता वितरणको जिम्मेवारी पाएका प्राविधिक हरसिह बोहराले वडावासी सामु माफि मागेका हुन् ।
मृतकको नाममा बृद्धभत्ता बुझ्ने गम्भीर गल्ती गरेर उल्टै प्राविधिक हरसिह बोहराले मृतकको नाममा भत्ता बुझेको विषयमा स्थानीयले खोधखोज गर्न थालेपछि गत सोमबार कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुला गएर यसअघि भुक्तानी भइसकेको दुई किस्ता भत्ता अर्थात २४ हजार र तेस्रो किस्ता वाफत आएको १२ हजार गरी ३६ हजार रुपैया फिर्ता गरेको बताउनुभएको छ ।
कर्मचारीले मृतकको नाममा बृद्धभत्ता निकासा गरेर अनियमितता गरेको विषयमा निगरानी गर्न नसकेको भन्दै वडाअध्यक्ष बोहराले गल्ती स्वीकार गर्दैै वडाबासी समक्ष माफी मागेको स्थानीय केशबराज जोशीले जानकारी दिनुभयो । पञ्चीकरणको जिम्मेवारी पाएका वडासचिब बिष्टले मृतकको नाम सामाजिक सुरक्षा पाउने व्याक्तिको सूचिबाट हटाउन नसक्नु र गैरकानुनी रुपमा निकासा भएको बृद्धभत्तामा भइरहेको अनियमितता रोक्न नसक्नु आफ्नो गल्ती भन्दै माफि मागेको पनि उहाँले बताउनुभयो । प्राविधिक हरसिह बोहराले मृतकको नाममा आएको पैसा आफैसंग राखेकोले यो विषयको सबै दोष आफ्नो भएको भन्दै सार्वजनिक रुपमा माफि मागेको अर्का स्थानीय भुवनराज जोशीले बताउनुभयो ।
आइतबार सरोकारवालाहरुको उपस्थितिमा भएको बैठक निष्कर्ष विहिन भएको छ । विगतमा मृत्यु दर्ता भइसकेका व्याक्तिकोे नाममा भ्रष्टाचार गर्नु, भ्रष्टाचार लुकाउन मैखोलीकै स्थानीयलाई भत्ता बुझेको झुटा आरोप लगाउनु र पटकपटक गल्ती गरेर निर्दोश सावित हुन खोजेकोले सामाजिक सुरक्षा भत्तामा अनियमितता गर्नेलाई कानुनी कारवाही हुनुपर्ने माग आफुहरुले राखेको मैखोलीका स्थानीय शम्भुराज जोशीले जानकारी दिनुभयो । स्थानीयले वडा कार्यालयबाट मृत्यु भइसकेका अरु मानिसको नाममा समेत भत्ता हिनामिना भएको हुनसक्ने भन्दै विगत तीन बर्षको सामाजिक सुरक्षा भत्ताको विवरण र विभिन्न आर्थिक विवरण सार्वजनिक गर्न लिखित रुपमा माग गरिएको निवेदकमध्येका एक अनिल जोशीले बताउनुभयो ।
वडावासीले सोमबार (आज) बेलुकीसम्म चित्तबुझ्दो समाधान तथा जवाफ नपाएमा वडा कार्यालय तालाबन्दी गर्दै कानुनी रुपमा अगाडी बढ्ने अल्टीमेटम दिएका छन् । यसअघि भदौ ८ गते गैरकानुनी ढंगले आएको भत्ता हिनामिना भएको विषयमा छानबिन गर्न माग गर्दै स्थानीयले वडाअध्यक्ष दिपेन्द्रसिह बोहरासमक्ष निवेदन दिएका थिए । सोहि निवेदनका आधारमा आइतबार मृतकका आफन्तहरुलाई बोलाएपनि वडा कार्यालयबाट चित्तबुझ्दो जवाफ नआएको भन्दै २४ घण्टाभित्र कानुनी उपचार वा समाधानको बाटोमा नगए वडा कार्यालय तालाबन्दी गरेर न्यायको पक्षमा थप आन्दोलन गर्ने छलफलमा सहभागिहरुले चेतावनी दिएका छन् ।
साेमबार वडा समितिकाे बैठक बस्न लागेकाेले उक्त बैठकमा याे विषयमा छलफल गर्ने वडाअध्यक्ष बाेहराले बताउनुभएकाे छ ।