दार्चुला। नेपाल-भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनको एक वर्ष पुरा भएको छ । भारतको मोतीहारी देखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको निगमले जनाएको छ ।
उक्त परिणामको डिजेल आयात गर्दा यस अघि हुने ढुवानी तथा तापक्रम नोक्सानीबापतको झण्डै एक अर्ब रुपैयाँ जोगिएको नेपाल आयल निगमले जनाएको छ । प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने पाइपलाइनको नेपाल र भारतका प्रधानमन्त्रीले गत वर्ष भदौ २४ गते संयुक्त भर्चुअल उद्घाटन गरेका थिए ।एक वर्षमा दुई लाख ६७ हजार ट्यांकर बराबरको डिजेल पाइपलाइनमार्फत भित्रिएको निगमको अमलेखगन्ज डिपोले जनाएको छ ।
एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताए ।भारतको बरौनीदेखि नेपालको अमलेखगन्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा खर्च हुने गरेकोमा पाइपलाइनपछि सो खर्च जोगिएको निगमको केन्द्रीय कार्यालयले जनाएको छ ।एक वर्षमा ५३ करोड ४१ लाख लिटर इन्धन आयात हुँदा करिब ८० करोड २६ लाख रुपैयाँ ढुवानीमा तथा करिब १५ लाख रुपैयाँ तापक्रम नोक्सानी बापत जोगिएको निगमको दावी छ ।
बरौनी र अमलेखगञ्जको तापक्रममा तीन डिग्रीको फरक रहेको र यसको नोक्सानी एउटा ट्यांकरमा ४५ लिटर बराबर हुने गर्थ्यो । यसका अलवा इन्धन चोरी र ट्यांकरका हुने घट्दा थप फाइदा भएको निगमले जनाएको छ ।कोभिड-१९ का कारण इन्धन खपत काम हुँदा पाइलाइन झैं पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको निगमले जनाएको छ ।
हाल हप्तामा तीन दिनमात्रै सञ्चालनमा आइरहेको पाइपलाइनबाट वाषिर्क डेढ अर्ब जोगिने अनुमान निगमले गरेको थियो ।