दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकामा वडाअध्यक्षले नै गाउँपालिका कार्यालयमा ताला लगाएका छन् । वडा नम्बर ३ का वडाअध्यक्ष उपेन्द्र सिह धामीले शुक्रबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
व्याँस गाउँपालिका वडा नम्बर ३ सिनामा वडा बाट छनोट भई स्वीकृत भइसकेका योजनाहरुलाई गाउँपालिकाले शिर्षक परिवर्तन गरि रकमान्तर गरेकाले तालाबन्दी गर्नुपरेको वडाध्यक्ष धामीले जानकारी दिनुभयो । वडा बाट छनोट भएका योजनाहरु वडा कार्यालयको असहमतिका बिच गाउँकार्यपालिकाको बैठकले शिर्षक परिवर्तन गरि रकमान्तर गर्ने निर्णय गरेको थियो । गत भाद्र १९ गते गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीलाई योजनाको रकमान्तर गर्ने निर्णय फिर्ता गर्न ज्ञापन पत्र बुझाउदा समेत कुनै सुनुवाई नभएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको वडाध्यक्ष धामीको भनाई छ ।
वडा कार्यालयले छनोट गरेका योजनाहरु स्वयंसेविका पारिश्रमीक, तुसरपानी घोरेटो बाटो निर्माण, कर्षि सहजकर्ता र टोल सुधार कृषक महिला लगायत कार्यक्रमहरुको व्याँस गाउँकार्यपालिकाको बैठकले शिर्षक परिर्वत गरि रकमान्तर गर्ने निर्णय गरेको बताइएको छ । वडाका जनताको आवश्यकता र मागका आधारमा छनोट गरिएका योजनाहरु वडा समिति र गाउँसभा बाट पनि स्विकृत भइसकेको अवस्थामा गाउँकार्यपालिकाले मनोमानि ढंगले शिर्षक परिवर्तन गरि रकमान्तर गरेकोप्रति वडावासीले आक्रोस व्यक्त गरेका छन् ।
व्याँस गाउँपालिका वडा नम्बर ३ तुसरपानी बस्तीका पहिरो पिडितहरुले उचित राहत नपाएको भन्दै गाउँपालिकामा खर छानो मुक्त कार्यक्रम अन्र्तगत राखिएका जस्तापाता लगेका थिए । लक्ष्यभन्दा बढी जस्तापाता वडा नम्बर ३ मा गएपछि वडाको बजेट कटौती गरेर जस्तापाता थप्ने उद्धेश्यले बजेट रकमान्तर गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
व्याँस गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेखरचन्द्र ओझाले भने गाउँपालिका भरी वितरण गर्नका लागि ल्याइएका जस्तापाता आधाभन्दा बढी वडा नम्बर ३ मा गएपछि चालु तर्फका केहि योजनाहरुको बजेट रकमान्तर गरेर विपद् व्यवस्थापन कोषमा राख्ने र सोहि रकमबाट थप जस्तापाता खरिद गर्ने निर्णय कार्यपालिका बैठकले गरेको जानकारी दिनुभयो । शुक्रबार गाउँपालिकामा तालाबन्दि भएपछि सो विषयमा छलफल गर्न सोमबार गाउँकार्यपालिका बैठक बोलाइएको उहाँले बताउनुभयो ।
गाउँपालिकासंग विपद् ब्यवस्थापन कोष, आकस्मीक कोष भएको अवस्थामा वडाको योजना कटौती गर्नु अन्यायपूर्ण भएकोले उक्त कार्य रोक्न तालाबन्दी गरेको वडाअध्यक्ष धामीले बताउनुभयो ।