दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचमा ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना निर्माण भएर उत्पादन थालेको दुई बर्ष बढी भइसकेको छ । २ किलोवाट विद्युतले समेत जिल्लाभरी झिलिमिलि हुने अवस्थामा ३० मेगावाट विद्युत उत्पादन हुदा समेत दार्चुलाको आधाभन्दा बढी घरधुरीमा विद्युत लाइन समेत विस्तार भएको छैन् ।

चमेलिया प्रभावित क्षेत्रका नागरिकलाई पटकपटक छिटै विद्युत विस्तार गर्ने आश्वासन प्राप्त भएपनि अहिलेसम्म गाउँघरमा अन्धकार कायमै रहेको बलाँचका स्थानीय पदम खडायतले गुनासो गर्नुभयो । चमेलियाबाट सबैभन्दा बढी प्रभावित शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा आधाभन्दा बढी बस्ती अहिलेपनि विद्युतको पहुच बाहिर छन् । साबिकको शिखर गाविसको वडा नम्बर ४, १, २ र ३ का आधाभन्दा बढी घरमा विद्युत विस्तार भएपनि अरु वडाहरुमा अहिलेसम्म विद्युत बलेको छैन् ।

तल्लो थला, रैतौडा, साजगाडा, मैरोडा, डुणा, जोग्यौडा, खाली, भुइडाडा, बगना, धानागारी लगायत विभिन्न बस्तीमा अहिलेसम्म विद्युत बलेको छैन् । विद्युतका तार पोल पुगेका ठाउँमा समेत विद्युत चार्ज नहुदा गाडिएका तारहरु चुडिएको र पोलहरु ढलेको अवस्थामा छन् । विद्युतबाट बञ्चीत नागरिकहरुले विद्युत विस्तारको माग गर्दै अनसन बस्दा समेत माग सुनुवाई नभएको स्थानीय खडायतले गुनासो गर्नुभयो । पटक पटक आश्वासन सबै पक्षबाट पाएपनि अहिलेसम्म विद्युत नपाएको स्थानीयको गुनासो छ । बलाँच मात्र हैन चमेलिया प्रभावित अधिकासं स्थानीय तहमा अझै विद्युत बलेको छैन् ।

दार्चुलामा २५ हजार पाँच सय घरधुरी मध्ये १६ हजार दुई सय घरधुरी अर्थात झण्डै ६५ प्रतिशत जनता अझैपनि विद्युतबाट बञ्चित रहेका छन् । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाको तथ्याङ्क अनुसार अहिलेसम्म दार्चुलाको नौँ हजार तीन सय घरधुरी अर्थात ३५ प्रतिशत जनताले मात्रै विद्युत सेवा प्राप्त गरेका छन् । विद्युत पुगेको ठाउँमा समेत अनियमित र कम गुणस्तरको विद्युतका कारण सास्ती भोग्नुपरेको उपभोक्ताहरुको गुनासो छ ।

दार्चुलामा ३० मेगावाटको चमेलिया जलविद्युत, नौगाड साढे ८ मेगावाट आयोजनासहित सहायक जलविद्युतहरु र दर्जनौ ग्रामिण लघुजलविद्युत उत्पादन भएपनि विद्युत सुविधा नपाउनु दार्चुलाबासीका लागि दुभाग्यको विषय रहेको लेकम गाउँपालिका वडा नम्बर ५ का स्थानीय केशबदत्त जोशीले गुनासो गर्नुभयो । समयमै ग्रामिण विद्युतिकरण, सवस्टेशन निर्माण र लाइन विस्तारको कार्य सम्पन्न नहुदा दार्चुलाबासीले अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको विद्युत वितरण केन्द्र दार्चुलाका प्रमुख दयाराम शाहको भनाई छ ।

निर्माण व्यवसायिहरुले ठेक्का पाइसकेपछि तिब्रताका साथ काम नगर्ने र विद्युत प्राधिकरणले समेत प्रभावकारी अनुगमन र नियमन गर्न नसक्दा अहिलेसम्म दार्चुलाबासीले अन्धकारमा बस्नुपरेको छ । ग्रामिण विद्युतिकरणका लागि २०७०÷०७१ सालदेखी ठेक्का सम्झौता भएका केहि स्थानमा हालसम्म समेत काम पुरा हुन सकेको छैन् । ग्रामिण विद्युतिकरणका लागि बर्षेनि करोडौ बजेटका दर्जनौ ठेक्का भएपनि समयमै विद्युत प्राधिकरणले उपकरण उपलब्ध गराउन नसक्ने, सडक पहुचको अभावमा ढुवानी गर्न समस्या हुने र ठेकेदार तथा सरोकारवालाहरुको लापरवाही र ढिलासुस्तीले विद्युतिकरणमा प्रगति हुन नसकेको शाहले बताउनुभयो । गत बर्षदेखि धमाधम विद्युत विस्तारको काम भइरहेकोले अबको दुई बर्षभित्र जिल्लाभरी विद्युत विस्तार भइसक्ने विद्युत वितरण केन्द्र दार्चुलाका प्रमुख शाहको भनाई छ ।

दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच गाउँपालिका सदरमुकामसम्म अझै विद्युत विस्तार भएको छैन् । अपि हिमाल, नौगाड, लेकम, व्याँस र दुहुँ गाउँपालिका सदरमुकामसम्म विद्युत नपुग्दा कार्यालयको कामकाज प्रभावित हुँदै आएको छ । महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन र मार्मा गाउँपालिका सदरमुकामसम्म भने विद्युत विस्तार भएको छ । विद्युत नपुगेका स्थानीय तहमा सौर्य उर्जाको भरमा कार्यालयको कामकाज सञ्चालन हुदैआएको छ ।

घामको भरमा स्थानीय सरकार सञ्चालन गर्नुपर्दा ढिलासुस्तीका साथै सेवा प्रवाहमा विभिन्न समयमा अवरुद्धता हुने गरेको छ । विद्युत नपुगेको अधिकासं ठाउँका नागरिकले सोलारको सहयताले काम गरिरहेका छन् भने केहि बिपन्न परिवारले सोलार समेत किन्न नसकेर अन्धकारमा बस्नुपरेको लेकम गाउँपालिका–५ का इन्द्रदेब जोशीले बताउनुभयो ।

अहिलेसम्म जिल्लाको अपि हिमाल गाउँपालिका र नौगाड गाउँपालिकामा विद्युतको राष्ट्यि प्रशारण लाइनले छोएको छैन् । चालु आर्थिक बर्षमा विद्युत नपुगेको स्थानमा काम गर्ने गरी ठेक्का भएपनि कार्यान्वयनमा ढिलाइ भइरहेको छ ।

लेकम गाउँपालिकाको वडा नम्बर तीनमा मात्रै भारतीय बजारबाट विद्युत आयात गरिएको छ । दुँहु र व्याँस गाउँपालिकाको केहि वडाहरुमा विद्युत पुगेको छ । महाकाली र शैल्यशिखर नगरपालिका र मालिकार्नुन र मार्मा गाउँपालिकाको अधिकासं घरधुरीमा विद्युत विस्तार भइसकेको विद्युत वितरण केन्द्र दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?