दार्चुला । दार्चुला सदरमुकाम खलंगाको पुलघाट नाका भएर ३३ जना मानिस नेपाल भित्रिएका छन् । कोरोनाका कारण सिमानाका बन्द हुँदा लामो समय देखी भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएर समस्यामा परेका नेपालीहरुलाई नेपाल प्रवेश दिइएको हो ।
दुवै देशको प्रशासन बिच भएको समन्वयका आधारमा विहीबार दिउसो ३ बजे खलंगा स्थित नेपाल–भारत जोड्ने झोलुंगे पुल खुलाएर उनिहरुलाई नेपाल प्रवेश दिइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।
दार्चुला भित्रिनेमा महाकाली नगरपालिकाका २४ जना रहेका छन् । नौगाड गाउँपालिकाका दुई जना, मार्मा गाउँपालिकाका दुई जना, व्याँस गाउँपालिकाका एक जना र बैतडीका ४ जना रहेका छन् ।
पिथौरागढ जिल्लाको विभिन्न क्षेत्रहरुबाट आएका मानिसहरुलाई नेपाल प्रवेश दिइ सम्बन्धित जिल्ला पठाइएको छ ।
भारतबाट ३३ जनाले नेपाल प्रवेश गर्दा नेपालबाट ३० जना भारत गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्याङक छ ।
केहि समय यता नेपाल–भारत जोड्ने खलंगा स्थित पुल खोल्न सरकारले प्रतिबन्ध गरेको थियो । सोमबार बसेको मन्त्री परिषदको बैठकले समस्यामा परेका नागरिकहरु भित्रीन खलंगाको पुल समेत गरी देशभरीका १२ नाका खोल्न सकीने निर्णय गरे अनुसार भारतमा समस्यामा परेका नेपाली र नेपालमा रोकिएका भारतीयहरुलाई स्वदेश फर्किन सीमा पुल खोलिएको हो ।
भारतबाट नेपाल भित्रिएकाहरुलाइ बिना चेकजाँच आ–आफ्नो घर पठाइएको छ । कोरोना प्रभावित क्षेत्रबाट आएका नागरिकहरुलाई क्वारेन्टाइनमा नराखि सिधै घर पठाउदा गाउँघरमा संक्रमण फैलिने जोखिम बढेको छ ।
कोरोना रोकथाममा करोडौँ खर्च गरेका स्थानीय तहहरुले भारतबाट भित्रिएका नागरिकलाई क्वारेन्टाइनमा राख्न वेवास्ता गरेको स्थानीयको गुनासो छ ।